१८ महिनामा ६ मुख्यमन्त्री, ५३ जना मन्त्री
लक्ष्मी उप्रेती,
झापा । कोशी प्रदेश पछिल्लो समय मुख्यमन्त्री र मन्त्री उत्पादनको थलो बन्दै गएको छ ।

मंसिर ०७९ को निर्वाचनयताका १८ महिनामा सात प्रदेशमा २३ वटा सरकार बनेका छन् । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशले प्रदेश सभाको दोस्रो कार्यकालको यो अवधिमा सबैभन्दा धेरै मुख्यमन्त्री र मन्त्री पाएको छ । यो अवधिमा ६ मुख्यमन्त्री पाएको कोशीमा ५३ जना मन्त्रीले मन्त्रालयको बागडोर सम्हालिसकेका छन् । मन्त्रीको यो संख्या दोहोरिएका र तेहरिएकासहितको हो ।

पछिल्लो पटक बहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्की २७ वैशाख ०८१ मा नियुक्त भएका थिए । छ जना मुख्यमन्त्री पाएको कोशीमा ‘घुमिफिरी रुम्जाटार’ भनेझै नेकपा एमालेका हिक्मतकुमार कार्की, नेपाली काँग्रेसका उद्धव थापा र केदार कार्कीले मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । कोशी प्रदेश सरकार निर्माणका विषय अदालतसम्म पुगेको थियो ।
कोशी प्रदेश सभाको पहिलो कार्यकालमा समेत मुख्यमन्त्रीको अवसर प्राप्त गरेका कार्कीले दोस्रो कार्यकालमा २४ पुस ०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरे ।

मुख्यमन्त्री कार्की अल्पमतमा परेकै बखत ३२ जेठ ०८० अध्यादेशमार्फत आर्थिक वर्ष ०८०÷८१ का लागि बजेट प्रस्तुत गरेका थिए। अल्पमतको सरकारले १५ असारमा बहुमत गुमाएपछि बजेट पारित हुन सकेन । १५ असार ०८० मा पदमुक्त हुनुअघि मुख्यमन्त्री कार्कीले तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसपछि मुख्यमन्त्रीको कुर्सीमा बस्ने पालो आयो नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाको । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट थापा २१ असार ०८० मा मुख्यमन्त्री बनेपनि सभामुखको हस्ताक्षर प्रयोग विषयमा सर्वाेच्चले थापालाई पदमुक्त गरिदियो । मुख्यमन्त्री थापाले चारपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका थिए ।

फेरि १६ साउन ०८० मा उनी मुख्यमन्त्री बने । प्रदेश सभाको ज्येष्ठ सदस्यको पनि विश्वासको मत गणना भएको विषयमा सर्वाेच्चले थापालाई पदमुक्त मात्र गरेन, संसद्को सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो र २२ भदौ ०८० मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भए । उनले विश्वासको मत नपाएपछि एक महिनामै पदमुक्त हुनु पर्याे । त्यसबीचमा कार्कीले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका थिए ।

मुख्यमन्त्री कार्की पदमुक्त भएपछि कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका केदार कार्कीले नाम दर्ता गराए । नेपाली काँग्रेसभित्र कोइराला परिवारका बिश्वासिला पात्र कार्कीले आफ्नै पार्टीका आठजना बागी सांसद लिएर एमालेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार २६ असोज ०८० मा प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्री बनेर देखाए । फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको गठबन्धन कार्कीका लागि दशा बनेर आयो । त्यसपछि एक महिना अल्पमतको सरकार चलाएका कार्की २६ वैैशाखमा पदमुक्त भए । त्यसबेलासम्म उनले तीनपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका थिए । केदार कार्कीलाई पाखा लगाएर २७ वैशाख ०८१ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । केन्द्रको राजनीति समीकरण अनुसार केही दिनअघि मात्र माओवादी ‘आउट’ भएको छ भने नेपाली काँग्रेस ‘इन’ हुने अवस्थामा छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि एमालेसँगको सहकार्य तोड्न माओवादी बाध्य भएको हो । सरकार फेरबदल भइरहँदा प्रदेशमा कानुन निर्माण, विकासका काम र संसदीय समिति गठन प्रभावित बन्ने गरेको एकजना प्रदेश सभा सदस्यको भनाई छ ।

हुन त, मुख्यमन्त्री कार्कीले तत्काल साथ नछाड्न माओवादीलाई भन्दै आएका थिए । तर, संघीय राजनीतिमा आएको भूकम्पको परकम्प प्रदेशतिर देखिएका कारण सरकार फेरबदलले निरन्तरता पायो । त्यसैका कारण कार्कीको आग्रह निरर्थक बन्यो । मुख्यमन्त्री कार्कीको नेतृत्वमा कोशी प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित चार जना सामेल थिए । भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्य राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण नारायणबहादुर बुर्जा मगर र पर्यटन राज्य मन्त्रीमा बन्दना झाँगड । उनीहरु कोशी प्रदेश सरकारबाट बाहिरिसकेका छन् । अब सरकारको त्यो खाली ठाउँ नेपाली काँग्रेसले पुरा गर्दैछ । माओवादी सत्ताबाट बाहिरिएपछि नेपाली काँग्रेस सरकार प्रवेशको तयारीमा छ । कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे काँग्रेसभित्र अझै टुंगो लागिनसकेको एकजना नेताको भनाई छ ।

नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुबीच भएको बैठकले आठ वटा मन्त्रालयमध्ये चार÷चार वटा बाँडफाँट गर्ने सहमति गरेको छ । कोशी प्रदेश सरकारमा एमालेका मुख्यमन्त्रीसहित पाँच र काँग्रेसका चारजना मन्त्री रहने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्