झापा,साउन १४ । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो । सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाँजा फेला परेको हो । गाँजासँगै गाडीमा सवार धनकुटा साँघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षीय बुद्ध लिम्बुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ ।

भारतीय सीमातर्फ लैजाने क्रममा बरामद गाँजासहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको नम्बर ४ गणले जनाएको छ ।

त्यसैगरी देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ६ किलो गाँजा र भोक्राहा नरसिंह गाउँपालिका ८ बाट साइकलसहित ६ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ । पछिल्लो समय चेकजाँच र निगरानी बढाइएसँगै गाँजा लगायत तस्करीका सरसामान बरामद हुने क्रम बढेको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको गाँजा र पक्राउ परेका व्यक्तिहरुको विषयमा छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । पक्राउ परेका गाँजा तस्करहरुलाई सोमबार सुनसरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान थालिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्