झापा, साउन १७ । लिम्बुवानजन्य संगठनहरु फुट्ने र जुट्ने क्रममा फेरि तीनवटा पार्टीबीच एकीकरण भएको छ ।

एक्लाएक्लै अस्तित्व नहुने देखेर राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबीच एकीकरण भएको हो । विचार र मुद्दा मिल्ने तीन पार्टीबीच एकीकरण गरिएको हिजो झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले तीन पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी’ (नेजपा) गठन गरिएको बताए । तीन पार्टीबीच २०८० मंसिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएको थियो । गत वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले उक्त सहमतिलाई अनुमोदन गरेको थियो । गत जेठ २९ गते निर्वाचन आयोगमा अद्यावधिक भएपछि पार्टीको नाम संशोधन भई नेपाल जनमुक्ति पार्टी भएको र अब उप्रान्त पार्टीको सम्पूर्ण गतिविधिहरु यसै नामबाट संचालन हुने जानकारी दिइयो ।

एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र बाँकी अन्यको हकमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ ।

यस्तै, पार्टी नेता सञ्जुहाङ पालुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एलवी पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।

“पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौँ”, जनमुक्ति पार्टीका अध्यक्ष पालुङ्वाले भने, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न दबाबमूलक कार्यक्रम गर्छौं ।”

६ बुँदे सहमतिका साथ बनेको नेपाल जनमुक्ति पार्टी निर्वाचन आयोगमा ९९ नम्बरमा दर्ता भएको जनमुक्तिका नेता सञ्जुहाङ पालुङ्वाले जानकारी दिए । उनले ठूला दलले बेवास्ता गर्दा पहिचानको मुद्दा ओझेलमा परेकाले तीन पार्टी एकीकृत भएर सो मुद्दा पुनः उठाउने धारणा राखे ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भक्त खेवाङले पहिचानको मुद्दालाई जातिवादी हिसाबले अपव्याख्या गरिएको गुनासो गरे । “पहिचानबारे धेरैलाई थाहा छैन । यो सबै जातजाति, भूगोल, भाषाभाषी र इतिहासको कुरा हो । सोहीअनुसार बुझाउन आवश्यक छ”, उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्