मेचीनगर, साउन १७ । झापाको मेचीनगरमा पछिल्लो समय खानेपानीको ओभरहेड ट्यांकीको धमाधम निर्माण भइरहेको छ ।

२६ असारमा मेचीनगर— ५ स्थित सिर्जना चोकमा काँकरभिट्टा सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको शिलान्यास भएर तीब्ररुपमा निर्माण कार्य अघि बढिरहेका बेला बुधबार मेचीनगर— ६ काँकरभिट्टाको रमाईलो शान्ति गाउँमा पुनः दुईसय २५ घनमिटरको ओभरहेड ट्यांकीको शिलान्यास भएको छ ।

दुवै ट्यांकी निर्माणका लागि मूल्य अभिवृद्धि करसहित कुल १० करोड ४८ लाख १९ हजार ४ सय ७७ रुपैयाँको लागतमा २०२४ जुन ६ तारिखमा ग्लोबल दिपेश जेभी कोटेश्वर काठमाडौंसँग सम्झौता भएको थियो । कुल लागतमध्ये एक करोड ३१ लाख रुपैयाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र नौं करोड १७ लाख १७ हजार ४२ रुपैयाँ संघीय सरकारले ब्यहोर्ने छ ।

उक्त रकमबाट एउटा चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरको गरी दुईवटा ओभरहेड ट्यांकी, चारवटा वोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइप लाईन विस्तार र कार्यालय भवन निर्माण हुने छ । २०२६ डिसेम्बर ५ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । दुईसय २५ घनमिटरको ट्यांकी निर्माण भएपछि त्यस क्षेत्रका छ सय घरपरिवार लाभान्वित हुने बताइएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेती र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले संयुक्तरुपमा ट्यांकीको शिलान्यास गरे ।

शिलान्यास समारोहमा बोल्दैं प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँच हुने छ भनी नैसर्गिक अधिकारको रुपमा उल्लेख गरेका कारण यो अधिकारबाट कोही पनि बञ्चित हुन नहुने स्पष्ट पारे ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए । त्यस्तै उपाध्यक्ष गोविन्द गिरीले शब्दमार्फत स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्