झापा, साउन १८ । झापामा हावाहुरीले क्षति गरेको छ ।

हिजो दिउँसोदेखि चलिरहेको हावाहुरीले रुख लडाएर , घरको छानो उडाएर सामान्य क्षति गरेको हो । बिर्तामोड ९ का यज्ञ श्रेष्ठले हावाहुरीले रुख ढल्दा आफ्नो तरकारीको टनेलमा क्षति पुगेको बताए । श्रेष्ठको पूर्ण कृषि फर्मको तरकारी बालीमा क्षति पुगेको हो । साथै उनको घरको पाँचवटा सुपारीको बोटसमेत हावाहुरीले लडाएको छ ।हावाहुरीले डेढ कठ्ठा क्षेत्रफलमा बनाइएको टनेल लडाएर साग, घिरौला र सुपारीलगायत गरी एकलाख पैतिस हजार बराबरको क्षति भएको बताइएको छ ।

हावाहुरीले पुर्याएको क्षतिको विवरण आइनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । यसैबीच जल तथा मौसम विज्ञान विभागले मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको सम्भावना रहेको जनाउँदै सतर्क रहन अनुरोध गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्