झापा, साउन १९ । सत्ताच्यूत भएर प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले जनतामाझ जाने जमर्को गरेको छ ।

सत्ताकेन्द्रित भएर निष्क्रिय रहेको माओवादी पार्टीलाई जनताले सजिलै साथ दिने अवस्था भने देखिदैन । प्रमुख प्रतिपक्षमा पुगेपछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा रहेको माओवादीले देशव्यापी रुपमा संगठन सुदृढीकरण र माओवादी नेतृत्वको सरकारले गरेको काम लिएर स्थानीय स्तरसम्म पुग्ने कार्यक्रम बनाउन लागेको छ । यसैक्रममा माओवादी केन्द्रले आज झापाको बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रम राखेको छ । आफ्नै पार्टीका कार्यकर्ताहरु पलायन भइरहेको अवस्थामा अन्य पार्टीका कार्यकर्ताहरुलाई आकर्षित गर्न खोज्नु ठूलो चुनौती देखिएको छ ।

झापामा पाँच सयभन्दा बढी व्यक्ति आज माओवादी केन्द्रमा प्रवेश गर्ने दावी गरिएको छ । विभिन्न पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेको जनाइएको छ । पाँच सयभन्दा बढी पार्टीमा प्रवेश गर्न लागेको र नवप्रवेशीहरुलाई स्वागत गर्न आज बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ आयोजना गर्न लागिएको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए । पार्टी प्रवेश गर्नेहरुको विवरण प्रदेश कमिटीले तयार गरेको उनले बताए ।

माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले माओवादी पार्टी सक्किने होइन, सच्चिने कुरामा दृढ संकल्पित भएर सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्