द्रोण अधिकारी,
भद्रपुर । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदूषणका कारण आसपासका बान्दिा दुई दशकयता प्रभावित भइरहेका छन् ।

दैनिक कार्यअन्तर्गत कैदी बन्दीबाट उत्पन्न हुने फोहोरजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको लागि ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जनबढी घरपरिवार प्रत्यक्ष असर भोगिरहेको दुई दशक भइसकेको छ ।
पछिल्लो एक वर्षयता कारागारबाट ध्वनि प्रदूषणको मार पनि आसपासका बासिन्दामा थपिएको गुनासो आएको छ ।
विहान र बेलुका ध्यान, तप र योगाका नाममा विभिन्न धर्म मान्ने संघ संस्थाका प्रतिनिधिहरूले गर्ने गरेका कार्यक्रमका आवाज बस्तीतिर फर्काएर माइक जडान गरिएका कारण आसपासका बासिन्दाले ध्वनि प्रदूषण सहनु परेको पीडित कविता नेपालले बताइन् ।

उनका अनुसार हरेक दिन बिहान ४ वजेबाट बज्न सुरू हुने साउण्ड बक्सको झङ्कार बेलुका ७ बजेसम्म रहने गरेको छ भने कैदी बन्दीलाई सूचना दिने, मनोरञ्जन गराउने कार्यदेखि भजन कीर्तन, तथा विभिन्न गीतको चर्को स्वर हरेक दिन सुन्नु पर्ने बाध्यता रहेको छ ।

कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको स्थानीयको आरोप छ । विभिन्न बहानामा ध्वनि प्रदूषण पनि थपिएपछि थप पीडामा परेको दुखेसो आसपासका बासिन्दाको छ ।

दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका हुन् ।
२०६२ सालयता नेतृत्वमा पुगेका सवै सरकार प्रमुखसित स्थानीय बासिन्दाले कारागारको फोहोर पानीको व्यवस्थापनका लागि सहज निकासको माग राखेर पटक पटक ज्ञापनपत्र बुझाएका भएपनि सहस्या हल हुन सकेको छैन ।
कारागारको फोहोरले झापाको सदरमुकाम आसपासका नागरिकको स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको छ ।
कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले केही वर्ष अगाडि उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको थियो । तर, सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले पूर्वपट्टिको बस्तीमा पानी पसेर डुवानको समस्या घटेको छैन ।

स्थानीय बासिन्दा दुर्गाबहादुर खड्का सहजै बग्ने ढल निर्माण नभएसम्म फोहोर पानीका कारण उत्पन्न समस्या हल नहुने बताउँछन् । शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन नछाडेको पीडित खड्काको भनाइ छ ।

समस्यै समस्याको भुमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदी बन्दीको पीडा भएर झापा कारागार समस्याको भुमरीमा परिरहेको भए पनि सरकारी संयन्त्रले समस्या हल गरी सुधारको बाटोमा लैजान सकेको छैन ।
सदरमुकामसमेत रहेको नेपालकै पुरानो नगर भद्रपुर नगरपालिकाभित्र रहेको जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न पीडित स्थानीय बासिन्दाले स्थानीय सरकारदेखि संघीय सरकारसम्म दबाब दिँदै आएका छन् । जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन ।

स्थानीयको जनजीवन दिसाजन्य वस्तुबाट उत्पन्न विभिन्न सरुवा रोग र प्रदूषणले कष्टकर बन्दै गएको गुनासो गरिरहेका छन् ।
कारागारबाट दैनिक पाँच हजार लिटरभन्दा बढी फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाव नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीडित स्थानीय नागरिकको गुनासो छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको २० वर्ष बितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्याङ्की त निर्माण भयो तर पनि, बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको स्थानीय भिष्मराज भट्टराईले गुनासो पोखे ।

कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढी दुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ । कारागारभित्रको फोहार पानी त्यही वरिपरि बग्ने भएकोले सँधै स्वास्थ्यमा समस्या आउने गरेको पीडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेतीबाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने अधिकारलाई जिल्ला कारागारबाट निस्कने तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको भन्दै पीडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार हनन् भइरहने पीडित स्थानीयको आरोप छ ।
देखिने गरी दुई दर्जन घर फोहोरको डुवानमा परेको भएपनि कारागारको फोहोरजन्य पानीको अस्तव्यस्तताले झापाको सदरमुकाम आसपासका हजारौं नागरिकको स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्