झापा, साउन १९ । मिस नेपाल–२०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले उचालिन् ।

यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।

कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए । जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे सकुन भण्डारी छन् ।
सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी प्रथम सुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गरिन् ।

‘३० वर्षअघि यही मञ्चमा मैले मिस नेपालका आयोजकप्रति हजुरहरुको यो यात्रा जारी रहोस् भन्दै सन्देश प्रवाह गरेको थिएँ । हो, साँच्चि नै ३० वर्ष पूर्ण भएको छ,’ प्रथम सुन्दरी राणाले भनिन्, ‘यो यात्रामा मसँगै सम्पूर्ण मिस नेपालहरु जो उपस्थित हुनुहुन्छ, हिडन ट्रेजरप्रति नतमस्तक छु । यो यात्राका दौरान कतिपय अप्ठ्यारा समस्या आए होला, त्यो समस्यासँग जुध्दै हिडन ट्रेजर एउटा रथजस्तै त्यसका पाङ्ग्राहरु नियमित, निरन्तरअघि बढ्दै गयो । र, मजस्ता अनेकौं आत्मनिर्भर महिला दिदीबहिनीहरुलाई गन्तव्य देखाउनुभयो । ३० वर्ष पूरा हुनु भएकोमा हिडन ट्रेजरलगायतलाई धन्यवाद टक्र्याउँदै सन्देश दिन चाहन्छु, यो यात्रा निरन्तर रहोस् ।’यो वर्ष मिस वर्ल्डमा भने मिस नेपाल २०२३ सृच्छा प्रधानले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा सुर सुधाले प्रस्तुति दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्