झापा , साउन २० । झापाको बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा चारजना पक्राउ परेका छन् ।

गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा न.–७ घर भई बिर्तामोड नगरपालिका वडा न. ५ स्थित सुब्बा चौक खानेपानी ट्याङकी छेउ बस्ने तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ वर्षीय बिजय मगरको डेरामा त्यसरी जुवातास खेल्दै लागूऔषध बेच्दै गरेको भेटिएको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले मगरको कोठाको तलासी लिँदा तास एक बुंक, इलाम माई नगरपालिका २ बस्ने ३० वर्षीय रुपेश ढुङ्गानाको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर, मेचीनगर नगरपालिका ९ बस्ने ४५ वर्षीय शेरबहादुर लिम्बूको साथबाट नगद रु. १२० , अर्जुनधारा नगरपालिका ७ बस्ने ३२ वर्षीय बिजय मगरको साथबाट नगद . १४५० र सोही ठाउँ बस्ने ३७ वर्षीय बिदुर मगर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति ८.३० बजे मेचीनगर नगरपालिका वडा न.–६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

भारतको पानीटंकीबाट सिटीसफारीमा चढी नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका वडा न. ९ शान्ति टोल बस्ने २६ वर्षीय अजय धिमालको शरीर तलासी लिने क्रममा उनले बोकी ल्याएको झोलाको प्वालभित्र प्लाष्टिकले पोका पारेर लुकाई राखेको १ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्