झापा , साउन २० । झापा बाह्रदशीका एक क्यान्सर विरामीका लागि भन्दै स्थानीय मुक्ति शर्मालगायतले थर्काउँदै सहयोग माग्न खोजेपछि बिर्तामोड ३ सैनिकमोडका बासिन्दाहरुले लखेटेका छन् ।

शुक्रवार गाडीमा साउन्ड सिस्टमसहित सहयोग उठाउन आउँदा सैनिकमोडमा विवाद भएको थियो । सो दिन प्रहरीले संझाई बुझाई त्यहाँबाट हटाएको थियो । तर, त्यसको भोलिपल्ट फेरि त्यही ठाउँमा शर्मा निहुँ खोज्न आएपछि स्थानीयहरुले लखेटेका हुन् । मानवीय हिसावले विरामीलाई सबैले सहयोग गर्नुपर्नेमा आफूलाई समाजसेवी बताउने शर्माको गलत शैलीका कारण सहयोग नगरी त्यहाँबाट हटाएको स्थानीय राम सुब्बाले बताए । उनले सहयोग संकलनसंगै शर्माले क्रिश्चियन धर्मको प्रचार गर्न खोजेकाले आफूहरुले विरोध जनाएको बताए । गाडीमा विरामीको लागि सहयोग संकलनसंगै शर्माको टोलीले क्रिश्चियन धर्मको प्रचार गर्दै आएको बताइएको छ ।

शुक्रवार पनि सैनिकमोडका स्थानीयसंग विवाद भएपछि आफूहरुले संझाई बुझाई पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले बताए । केही महिनाअघि तिनै शर्माले बिर्ताबजारमा अर्का एक विरामीको लागि भन्दै त्यसरी सहयोग संकलन गरेको स्थानीयले बताए । विरामीको लागि भन्दै पैसा उठाउने गलत प्रवृति हावी हुँदै गएपछि त्यसको विरोध हुन थालेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत क्यान्सरपीडित राजवंशीको सहयोग संकलनका लागि भनेर बाह्रदशी ५ को वडा कार्यालयले सिफारिस दिएको देखिन्छ । त्यस सिफारिसलाई दुरुपयोग गरेकाले फिर्ता मागिने वडाध्यक्ष विरबहादुर सिंह राजवंशीले बताए । ‘गाउँ ठाउँमा स्वेच्छाले सहयोग संकलन गर्न भनेर वडाले व्यवहारिकताका हिसावले सिफारिस दिएको हो ’उनले भने,‘यसरी दुरुपयोग भएपछि सिफारिस फिर्ता माग्छौ र सहयोग उठाउन पनि बन्द गराउँछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्