झापा,साउन २० । कोशी प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन दोस्रो हप्ता बित्दा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार साउन १७ सम्म धान उत्पादन हुने कुल क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशमा दुई लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा अहिलेसम्म दुई लाख ६२ हजार ६०४.४६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । प्रदेशको तराईका जिल्लामा ९६.६० प्रतिशत, मध्यपहाडमा ९१ प्रतिशत र उच्च पहाडमा ९२.७१ प्रतिशत स्थानमा रोपाइँ भएको सूचना अधिकृत पूर्णमाया गुरुङले बताइन् ।

ताप्लेजुङमा पाँच हजार ६६६.३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा नियमित वर्षा हुँदा ९६.५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । आठ हजार ४९२.६३ हेक्टर क्षेत्रफलमा सङ्खुवासभामा धान खेती हुँदै आएकोमा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ । त्यस्तै सोलुखुम्बुमा एक हजार २२५ हेक्टरमा धान खेती हुँदै आएकोमा ९३.९९ प्रतिशत रोपाइँ भएको छ । पाँचथर जिल्लामा पाँच हजार ८४८.९६ हेक्टरमा धान खेती हुने गरेकोमा साउन १७ सम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

इलाममा ११ हजार ६२.६४ हेक्टरमा धान खेती हुने गरेकोमा समयमा वर्षा र मल पाएकाले ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिने भोजपुरमा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाइएको छ ।

तेह्रथुममा छ हजार ६१५ हेक्टरमा धान खेती गरिँदै आएकोमा ८० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । चार हजार ९३८.८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटामा मकै भित्र्याउने क्रम चलिरहेकाले ८१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । उदयपुरमा १३ हजार ३८०.०५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । समयमा वर्षा हुँदा यहाँको ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ भने ओखलढुङ्गामा ९२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

झापा र मोरङमा अधिकतर स्थानमा धान रोपाइँ भएको छ । झापामा ९६.३३ र मोरङमा ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । त्यस्तै सुनसरीमा पनि करिब ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्