झापा,साउन २० । सप्तकोशी नदीको कटान रोक्न जलाल क्षेत्रमा स्थानीयले जैविक तटबन्ध लगाउन थालेका छन् । सुनसरीको श्रीलङ्का टापुमा पर्ने जलाल, सिसौली घाट र चिलैया क्षेत्रमा नदीको कटान तीव्र भएपछि स्थानीयले जैविक तटबन्ध लगाउन थालेका हुन् ।

रुखका हाँगा, माटो भरेको बोरा र डोरीको प्रयोग गरेर जैविक तबन्ध लगाउन थालेको स्थानीय बद्री राईले बताए । कोशीमा पानीको बहाव घटेपछि वराहक्षेत्र नगरपालिका वडा नम्बर–६ र ९ मा पर्ने टापुमा एक हप्ताअघिदेखि कटान हुँदै आएको छ ।

नदीले कटान गर्न थालेसँगै श्रीलङ्का टापुका स्थानीयमा त्रासदी छाएको छ । स्थानीयले श्रमदान गरेर कटान भएको क्षेत्रमा जैविकीय तटबन्ध बनाउन थालेका छन् । टापु क्षेत्रमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो ।

सो टापुको जलाल, शिशौली घाट र चिलैया गाउँमा वर्षाको चार महिना कटानको जोखिम हुँदै आएको छ । रुखका हाँगा, बाँस, सेउला र बोरामा माटो भरेर तत्कालका लागि कटान रोक्ने काममा जुटेको बताए । वराहक्षेत्र नगरपालिकाले माटो भर्ने बोरा उपलब्ध गराएपछि स्थानीय कटान रोक्न जुटेका हुन् । साउनको दोस्रो हप्तादेखि नदीको पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका छ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । टापु क्षेत्रमा आठ सय मिटरभन्दा बढी नदीले कटान गरिसकेको वराहक्षेत्र वडा नं. ६ का वडाध्यक्ष उद्धव पोखे्रलले बताए ।

उनले भने,“नदीको कटान तीव्र भएकाले एकतिर रोक्यो अर्काेतिर कटान हुन्छ । कटान रोकथाम गर्न सबैजना लागि परे पनि समाधान हुन सकेको छैन, रोकथामको थप प्रयासका लागि भारतीय जलसंसाधनलाई पत्राचार गरेका छौँ ।” वराहक्षेत्रको वडा नम्बर ६ र ९ बेलकाको २ र ३ वडा टापुमा पर्छ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टापुमा सात हजार जनसंख्याको बसोबास छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्