झापा,साउन २१ । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा निर्माण गरिएका दुई हवन कुण्ड आजदेखि सञ्चालनमा ल्याइएको हो ।

गत वैशाख ४ गते सम्झौता गरेर निर्माण सुरु गरिएको हवन कुण्ड गत असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी वासु कन्स्ट्रक्सन एन्ड सप्लायर्स सोलुखुम्बुले ठेक्का लिएको थियो । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताइन् ।

त्रिधार्मिकस्थल हलेसी गुफाको प्रमुख प्रवेशद्वारको बाँयापट्टि निर्माण गरिएको हवन कुण्ड कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार औपचारिक उद्घाटन गरे । निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्मित हवन कुण्डको शिलालेख वाचन गरेर, हवन कुण्डको प्रवेशद्वारमा राखिएको रिबन काटेर तथा हवन कुण्डमा पूजा गरेर औपचारिकरुपमा उद्घाटन गरेका हन् ।

औपचारिक उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी तीन धर्मको धार्मिक राजधानी भएको दाबी गरे । “हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल भएको ठाउँ संसारमा कहीँ पनि छैन, हलेसी तीन धर्मको सङ्गमलस्थल भएकाले धार्मिक राजधानी हो”, उनले भने,“त्रिधार्मिकस्थल हलेसीसहित पूर्वका तीन धार्मिकस्थलको प्रवर्द्धन गर्न आफू नेतृत्वको प्रदेश सरकारले योजना बनाएको छ, प्रदेश सरकारले बनाएको योजनामा हलेसी–वराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ, यसै योजनाअन्तर्गत त्रिधार्मिकस्थल हलेसीमा कोशी प्रदेश सरकारको सहयोगमा हवन कुण्ड निर्माण गरिएको हो, यसले विश्वको ध्यान केन्द्रित गर्दछ ।”

गत असार २० गते नै निर्माण सम्पन्न भएको हवन कुण्ड वैशाख २१ गते निवर्तमान मुख्यमन्त्री कार्की आफैँले शिलान्यास गरेका हुन् । भुईँ ढलान तथा फलामे ट्रस प्रयोग गरेर निर्माण गरिएको हवन कुण्ड तोकिएको समयभन्दा चार दिनपछि ठेकेदार कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

धार्मिकरुपले मात्र नभई प्राकृतिकरुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समितिसमेत लागिपरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्