झापा,साउन २१ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।

शनिबार (साउन १९ गते) भने राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए ।

त्रिविले परीक्षा समाप्त भएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको थियो । यति छोटो समयमा नतिजा सार्वजनिक गरिएको सम्भवतः त्रिविको इतिहासमै पहिलो पटक भएको दाबी गरिएको छ ।

परीक्षा नियन्त्रक जोशीले भने, “स्रोतसाधनले भ्याएसम्म परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको कामलाई छिट्टै गर्छौं । अन्य विषयका नतिजा पनि छिट्टै प्रकाशन गर्ने तयारीमा छौँ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्