झिलझिले, साउन २१ ।साउन महिनाको तेस्रो सोमवार झापाको सताक्षीधाम र द्वादश ज्योतिर्लिङ्ग शिवालयमा भक्तजनको भीड लाग्यो ।

अघिल्ला दुई सोमबारभन्दा यो सोमबार भक्तजनको ठुलो भीड लागेको गोलोक गोवर्द्धन गौशालाले जनाएको छ । साउन भगवान शिवको प्रिय महिना हो ।

भक्तजनसंगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत प्रदेश सरकारका उच्च पदस्थ सरकारी अधिकारीहरु पनि द्वादश ज्योतिर्लिङ्ग शिवालयमा जल चढाउन आएका थिए । यस्तै झापाका सरकारी अधिकारीको पनि बाक्लो उपस्थिति थियो ।

मुख्यमन्त्री हिक्मत कार्कीले गोलोक गोवर्द्धन गौशाला परिसरमा रहेको द्वादश ज्योतिर्लिङ्गमा तीन घन्टा लामो शिवको प्रतिमामा पूजा आराधना गरे । उनले पहेलो बस्त्र लगाएर विधिपूर्वक शिवालयमा जल जढाएर पूजा आराधना गरेका हुन् ।

मुख्यमन्त्री कार्कीसंगै प्रहरी नायव महानिरीक्षक खापुङले पनि शिवालयमा जल चढाएर पूजा आराधना गरे । मुख्यमन्त्री कार्कीले शिवालयमा महाआरती पनि गरेका थिए । गोलोक गोवर्द्धन गौशालाका अध्यक्ष नन्दकिशोर जी महाराजको आतिथ्यतामा प्रदेशका मुख्यमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारी सताक्षीधाम पुगेका हुन् ।

जल चढाउन सांसद राधाकृष्ण खनाल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, धनबहादुर थेवे, मेगाहाङ थोप्रालगायत जिल्लास्थित पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।
साउन महिनाको प्रत्येक सोमवार ब्रत बस्ने र शिव मन्दिरहरूमा दुध र जल चढाई पूजा गर्ने प्रचलन छ । साउने सोमवार सुरु भएदेखि झापाका शिवालयमा जल चढाउने भक्तजनको भीड थियो ।


साउन महिनाको सोमवारका दिनमा देशभरका शिवालयमा शिवको पूजा आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमवारदेखि अन्तिम सोमवारसम्म ब्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी ब्रत समापन गर्ने विधि छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्