झापा , साउन २१ । निक्षेपकर्ता मन्जुकुमारी नेपालको रकम हिनामिना प्रकरणमा बैंकका तत्कालीन कर्मचारी प्रमोद सिटौलाको व्यक्तिगत संलग्नता रहेको भन्दै प्रभु बैंकले उनीमाथि कारवाही शुरु भैसकेको जनाएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी सामान्य बैंकिङ अभ्यासविपरित सम्बन्धित खातामा रकम नै दाखिला नगरी नक्कली कागजात बनाई प्रदान गर्ने कार्यमा बैंकका तत्कालीन कर्मचारी प्रमोद सिटौलाको व्यक्तिगत संलग्नता रहेको बैंकको प्रारम्भिक छानविनबाट खुल्न आएको जनाएका छन् । हाल उनी बैंकको सम्पर्क बाहिर रहेको र बैंकको कर्मचारी विनियमावली बमोजिमको कारवाही शुरु भैसकेको पोखरेलले उल्लेख गरेका छन् । त्यस घटनामा सिटौलासंगै अरु कसैको संलग्नता भए कार्वाही गर्न पछि नपर्ने उनले प्रतिवद्धता जनाएका छन् । ‘उक्त घटनामा निज प्रमोद सिटौला लगायत अन्य व्यक्तिहरु कोही संलग्न भएको भए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी उक्त कानुन प्रतिकुलको कार्यमा संलग्न दोषी उपर कानुन बमोजिमको कारवाहीका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाईसकिएको छ ’ उनले भनेका छन् ।

नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले पनि बैंकबाट आन्तरिक छानविन गर्दा पेश हुन आएका कागजातहरु बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएको बताएका छन् । यसअघि हिजो बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले पनि प्रेस विज्ञप्ति जारी गरी प्रभु बैंकको बिर्तामोड शाखा कार्यालयका निक्षेपकर्ता नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएको जनाएका थिए ।

रकम हिनामिना प्रकरणसम्बन्धी अनुसन्धानको क्रममा बैंकको तर्फबाट पूर्ण सहयोग उपलब्ध हुने विज्ञप्तिमा जनाइएको छ । निक्षेपकर्ता नेपालका श्रीमान टीकाराम नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दावी गरेका छन् । उनले आफ्नी श्रीमती मन्जुकुमारी नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा रु. १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्