झापा, साउन २१ । बंगलादेशमा तनाव भएपछि पूर्वी नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

विकसित राजनीतिक घटनाक्रमपछि सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको हो । बंगलादेशमा तनाव भएपछि पूर्वी नाका काँकरभिट्टा र सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख, डीएसपी मीमकुमार लामाले बताए । उनले कोभिडपछि बंगलादेशबाट आउन भारतले कडाई गरेकाले भारत हुँदै नेपाल प्रवेश गर्ने संभावना कम रहेको बताए ।

त्यस्तै अध्यागमन कार्यालयले पनि निगरानी बढाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा निगरानी बढाइएको अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुले बताए । उनले भारतीयको भेषमा बंगलादेशीहरु छिर्न सक्ने संभावना पनि रहेको जानकारी दिए । पूर्वी नाकाबाट आज एकजना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जुलाई २१ देखि अगष्ट ५ तारिखसम्म बंगलादेशबाट ४५२ पुरुष र २६६ महिला गरी जम्मा ७१८ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसमध्ये अधिकांश नेपाली विद्यार्थीहरु छन् । केही नेपाली खेलाडीहरु पनि रहेको अध्यागमन कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो । अनुमतिबिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) लाई निर्देशन दिएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रसँग जोडिएका सबै बाहिनी मुख्यालयहरुलाई तेस्रो देशबाट गैरकानुनी रुपमा हुनसक्ने प्रवेशलगायत गैरकानुनी गतिविधिलाई सुक्ष्मरुपमा निगरानी गर्न र सोही अनुसार सुरक्षा सतर्कता अपनाउन परिपत्र गरिएको जानकारी दिए ।

बंगलादेशबाट भारत हुँदै खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रवेश गर्न सहज मानिन्छ । यसअघि पनि तेस्रो मुलुकका व्यक्तिहरु भारतीय भूमि हुँदै अनधिकृत रुपमा नेपाल प्रवेश गरेर काठमाडौमा ‘शरण’ लिन आएका थिए ।

म्यान्मारमा सैनिक ‘कु’ पछि रोहिंग्याको समूह मेची पुल र अन्य नाका हुँदै गैरकानुनी रुपमा प्रवेश गरी काठमाडौंसम्म पुगेका थिए । त्यस्तै, अफगानिस्तानमा तालिवानी समूहले सत्ता हातमा लिएपछि भारतको बाटो हुँदै अफगानी पनि ‘शरणार्थी’ भेषमा नेपाल छिरेका थिए ।

सीमा क्षेत्रमा कमजोर नियमन र सुरक्षा सावधानीमा देखिएको कमजोरी तथा खुला सीमानाका कारण म्यानमारका रोहिंग्या र अफगानी नागरिक गैरकानुनी रुपमा नेपाल छिरेका थिए । बंगलादेशमा सत्ता र विपक्षी दलबीचको टकराव तथा पछिल्लो समय आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि निम्तिएको संकटसँगै प्रधानमन्त्री शेखर हसिनाले राजीनामा दिई देश छाडेर भारत पुगिसकेकी छन् । उक्त घटनाको असर नेपालसम्म पर्ने सक्ने अनुमान गरी नेपाल सरकारले उच्च सुरक्षा अपनाएको छ ।

हसिना समर्थक र आन्दोलनकारी समूहबीचको टकरावले बंगलादेशबाट पनि मानिस अरु देश छिर्नसक्ने जोखिम औंल्याउँदै नेपाल सरकारले गैरकानुनी घुसपैठ रोक्न साबधानी अपनाएको हो ।
नेपालको झापाबाट बंगलादेशको राजधानी ढाका करिब ५ सय किलोमिटर टाढा पर्छ । यसैबीच बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बंगलादेश व्यापारमा समेत परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि सोमवारदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशीय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्