मेचीनगर । तेस्रो मुलुकका नागरिकका लागि लामो समयसम्म अवरुद्ध रहेको काँकरभिट्टा नाका सहज भएको छ ।

कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो मुलुकका सम्पूर्ण नागरिकहरुलाई भिसा दिन बन्द गरेको थियो । नाका सहज भएसँगै तेस्रो मुलुकका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेको सरकारी अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारतले प्रवेशाज्ञा नदिँदा त्यसको असर सोझै नेपाली पर्यटन क्षेत्रमा परेको थियो ।

१ अगष्टदेखि भारतीय पक्षले नाका खुलाएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । ‘हामीलाई टेलिफोनमार्फत तेस्रो मुलुकका नागरिकका लागि पनि नाका खुलेको भारतीय पक्षले जानकारी गराएको छ’ अध्यागमन कार्यालय काँकरभिटटाका कार्यालय प्रमुख मोहन पनेरुले भने ,‘तर, खासै पर्यटक आएका छैनन् , सायद जानकारी पनि नभएर होला ।’ नाका खुलेयता बंगलादेशका दुई, बेलायतका एक, अमेरिकाका तीन, स्वीजरल्याण्डका चार, भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको कार्यालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा नर्वेका नागरिक दुई, जापानीज एक, स्वीजरल्याण्डका एक, बेलायतका एक, भुटानका २३, बंगलादेश एकजना नागरिक काँकरभिट्टा नाका भएर बाहिरिएका छन् । नेपाल प्रवेशको सुदूरपूर्वको नाका काँकरभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा नदिएका कारण पूर्वीनाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै थिएन ।

यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरुबीच औपचारिक तथा अनौपचारिकरुपमा पटक पटक छलफल भएपनि सुरक्षाको कारण देखाएर भारतीय अध्यागमन कार्यालयले प्रवेशाज्ञा दिएको थिएन । लामो छलफलपछि भारतीय पक्षले नाका खुलाएको पर्यटन व्यवसायीहरुको भनाई छ । तात्कालीन नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर नाट्टाले यो समस्याका बारेमा जानकारी गराएको निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समेत यो विषयमा छलफल भएपनि समस्याको समाधान हुन सकेको थिएन । दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटकपटक यस विषयमा जानकारी गराउँदासम्म समस्याको समाधान नभएको पर्यटन निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुकका पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्