कन्काई, साउन २२ । तीन वटा पार्टी एकीकृत भएर बनेको नेपाल जनमुक्ति पार्टीले कनकाई नगरपालिकाको सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पहिचान तथा स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालीन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धीको बिषयमा मंगलबार पार्टीले अन्तरक्रिया गरेको हो ।

लिम्बुवानसहितका पहिचानवादी पार्टीहरुले स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालीन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धी कार्यान्वयन नगरेको भन्दै साउन २२ गतेको दिनलाई कालो दिनको रुपमा लिदैं प्रत्येक बर्ष नेपाल बन्दको आव्हान गर्ने गरेका थिए । तर, यस बर्ष भने उक्त दिनको अवसर पारेर अन्तरक्रिया आयोजना गरिएको पार्टीका केन्द्रीय सचिव पालुङ्वाले जानकारी दिए ।
साउन २२ गतेलाई २०६६ सालदेखि कालो दिनको रुपमा लिँदै प्रत्येक बर्ष लिम्बुवानजन्य संगठनहरुले बन्द घोषणा गर्दै आएका थिए ।

राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बिच ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको गत साउन १६ गते बिर्तामोडमा घोषणा गरिएको थियो ।
नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको ब्यवस्थापन जिल्ला समिति झापाको रहेको थियो । नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिका अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता सन्जुहाङ पालुङ्वाको प्रमुख आतिथ्य रहेको थियो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङले स्वागत गरेको कार्यक्रममा उपमहासचिव बिष्णु थाम्देनले प्रस्तुत गरेको पार्टीको कार्यपत्र तथा अवधारणाका बिषयमा बुद्धिजीवी देशु बनेमले टिप्पणी गरेका थिए । पार्टीको अवधारणाको बिषयमा टिप्पणी गर्दै बनेमले २०६४ चैत ६ गते सातै दलका नेतृत्वसँग बसेर भएको सहमति अझै कार्यान्वयन नहुनु दुःखको कुरा भएको बताए । बि.सं. १८३१ कै अवस्थामा सन्धी गर्न नसकिएपनि अहिलेको परिवेशअनुसार सन्धी पालना हुनु पर्ने उनको जोड थियो ।

उनले सबै राजनीतिक दलले १८३१ को सन्धीलाई स्वीकार गरेपनि कार्यान्वयन नगरेको तर्क गरे । ‘राज्यमा स्वायत्तताको बहस चलिरहेको छ’ नेता बनेमले भने ‘राजनीतिक दलहरुले पनि लिम्बूहरुलाई मान्यता दिएरै भ्रातृ संगठनहरु गठन गरेका छन् ।’ तर, ४÷५ वटा सांसद दिने बहानामा अल्मल्याएको जिकिर गर्दै संबिधान बनाउँदा पनि धोका दिएको तर्क गरे ।
राजाले गरेको सन्धी किन मान्ने भन्नुभन्दा पनि राजा पनि राज्य नै भएकाले उक्त सन्धी अहिलेको परिवेशअनुसार राज्यले मान्नु पर्ने बनेमले टिप्पणी गरेका छन् ।

प्रमुख अतिथिको सम्बोधन गर्दै पार्टीका नेता सञ्जुहाङ पालुङ्वाले १८१४ मा लिम्बूको राजपाट कसैले खोस्ने छैन र १८३१ मा सवै राज्यकै भएको लालमोहर लगाएको बताए । उनले १८३१ अघिको लालमोहरले मात्र साउन २२ लाई कालो दिन भन्न सकिने बताउँदै सवै पहिचानवादी एक भएर निरन्तररुपमा अधिकार खोजी गर्नु पर्ने बताए ।

टिपोटकर्ता केन्द्रीय सचिव एलबी पालुङ्वा रहेका अन्तरक्रिया कार्यक्रममा बुद्धिजीवी टेकबहादुर खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानबहादुर इम्वाङ, केन्द्रीय सचिवालय सदस्य लाहानसिंह तुम्वापो, प्रदेश नं. १ पुनःनामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्र थेगिम, महासचिव रामभक्त कुरुम्वाङ, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य केदार धिमाल, नागरिक उन्मुक्ति पार्टीका सह–महासचिव दिलकुमार लावतीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल जनमुक्ति पार्टीका कोशी प्रदेश सचिव कृष्ण थेवेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्