झापा, साउन २२ । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याएको अन्दाजी साढे १२ लाख बराबरको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बुद्धशान्ति र मेचीनगरबाट सो मूल्य बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले मंगलबार साँझ ७ः१० बजे बुद्धशान्ति गाउँपालिका–७ स्थित सुनमाई चिया बगानभित्र लुकाइ राखेको अवस्थामा ८ पोका कपडा बरामद गरेको हो । अन्दाजी १० लाख मूल्य बराबरको लत्ताकपडा इलाम र झापा जोडिएको सीमावर्ती नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्र्याई सो स्थानमा ल्याएर भण्डारण गरी राखिएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले मंगलवारै साँझ साढे ७ बजेको समयमा मेचीनगर नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको डीएसपी पोखरेलले बताए । सो सामान पनि भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको थियो ।

बरामद गरिएको सामानहरूमा कुर्ता सुरुवाल, लेडिज पेन्ट, लेहेङ्गा, गन्जीलगायत रहेका छन् । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्