बिर्तामोड , साउन २३ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले टांगेको व्यानर प्रहरीले हटाएको छ ।
महाअभियानले घर कब्जा गरेको भन्दै हिजो त्यहाँ व्यानर टांगेको थियो । आज बिहान प्रहरीले लिलामीको घरमा राखिएको व्यानर झिकेर लगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्धारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियोे । ३३ धुर जग्गामा बनेको अढाई तले घर बैंकमा राखेर पोद्धारले ८ करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए । सो ऋण नतिरेपछि भर्खरै बैंकले लिलामी गरेको हो ।
अभियानका ऋण एसोसिएसन केन्द्रीय सचिवालयका संयोजक देवीप्रसाद संग्रौलाको अगुवाईमा गएको समूहले नारा जुलुससहित पोद्धारको घरमा अभियानको व्यानर टांगेको थियो ।