झापा,साउन २४ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताएकी छिन्।
झापाको अर्जुनधारामा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यो वर्षदेखि फलफूल जङ्गल (फ्रुट फरेष्ट)को अवधारणाका लागि मन्त्रालयले बजेटसमेत् छुट्याएको जानकारी दिइन्। उनले भनिन्, “वन क्षेत्रका वन्यजन्तुलाई वनभित्रै आहार व्यवस्थापन गर्ने सोचका साथ यो अवधारणा अघि सारिएको हो ।”

वन जङ्गलमा पाइने विशेष प्रकृतिका फलफूल संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन्। वनमा आश्रित पशुपन्छीको आहारा व्यवस्थापनका लागि यसै वर्षदेखि सुरु गरेको पशुपन्छी बास बगैँचा कार्यक्रमको प्रशंसा गर्दै उनले भनिन्, “मान्छेले मात्र होइन, सबै पशुपन्छीले खान पाउनुपर्छ।”

पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व सङ्कटमा पर्ने भएकाले पर्यावरण संरक्षणमा उनको जोड थियो। नगरको ‘पशुपन्छी बास–बगैँचा कार्यक्रम’ का लागि नेपाली सेनाको अरिदमन गणले अमला, तित्री, हर्रो, बर्रो, अम्बक, लिच्ची र जामुनको दुई हजार बोट बिरुवा प्रदान गरेको छ। नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्