झापा, साउन २४ । भद्रपुर ७ निवासी एलिसा बुढाथोकी सिटौलाले आफ्ना श्रीमान प्रमोद सिटौलालाई बिर्तामोड तीन जना व्यक्तिले बेपत्ता पारेको आरोप लगाउँदै सकुशल घर फर्काइदिन आग्रह गरेकी छिन् ।


प्रभु बैंक बिर्तामोड शाखाका सुपरभाइजर पदमा कार्यरत आफ्ना श्रीमानलाई टिकाराम नेपाल ‘नेती’ ,स्वागत नेपाल र तुलसी उप्रेतीले बेपत्ता बनाएको आरोप लगाउँदै प्रमोदलाई सकुशल घर फर्काइदिन एलिसाको आग्रह छ । बिर्तामोडमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सिटौंला परिवारले बैंकको कारोवारलाई लिएर मान्छे नै बेपत्ता बनाउने कार्य भएको भन्दै सरकारबाला सबैलाई प्रमोदको खोजी गरिदिन सिटौला परिवारले आग्रह गरेको हो ।

गत साउन १६ गते बैंकमा भएको कारोवारको विषयलाई लिएर नेतीसहित तीन जनाले प्रमोदलाई घरबाट नै अपहरण शैलीमा बिर्तामोड लिएर आएको सिटौला परिवारको दावी छ । १६ गते विहान प्रमोदलाई नेतीले ३४९७ नम्वरको खैरो रंगको कारमा लिएर गएको र सोही दिन १० बजेर १७ मिनेटमा वुहारी एलिसाको नम्वरमा फोन गर्दै नेतीले धम्कीपूर्ण शैलीमा उल्टै प्रमोद घर आयो भन्दै धम्क्याएको आमा पवित्राको भनाई छ ।

प्रमोदलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रहरी कार्यालय झापालाई पटक – पटक आग्रह गर्दा समेत प्रहरीले जाहेरी लिन नमानेको प्रमोदका मामा कृष्ण प्रसाईले बताए । उनले भने ,‘ यदि प्रमोदले गल्ती गरेको भए कारवाही हुनु पर्छ तर मानिसलाई विनाकारण वेपत्ता पार्नु त भएन नि ?’
वेपत्ता पारिएका भान्जाको खोजी गरिदिन प्रहरीसंग आग्रह गर्दा प्रहरीले निवेदन नै लिन नमान्नु खेदजनक भएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै सिटौला समाजका अध्यक्ष प्रेमप्रकाश सिटौलाले कानूनी राज्यमा दिनदहाडै ब्यक्ति वेपत्ता पार्नु र हाम्रो मानिस वेपत्ता बनाइयो भन्दै प्रहरीकहाँ निवेदन लिएर जाँदा निवेदन नै दर्ता नगर्नु आपत्तिजनक विषय भएको बताए ।

पत्रकारसमेत रहेका नेतीले श्रीमती मञ्जुकुमारी नेपालको नाममा प्रभु बैंक बिर्तामोड शाखामा एक करोड १७ लाख रुपैयाँ डिपोजिट गरेको र सो रकम हिनामिना भएको दावी गर्दै आएका छन् । तर, प्रभु बैंकले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट अनधिकृत रहेको जनाएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमन्ट अनधिकृत एवं नक्कली रहेको धारणा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्