झिलझिले, साउन २४ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको ७७ औँ स्थापना दिवस झापाको शिवसताक्षीमा वृक्षरोपण गरि मनाइएको छ ।

नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा विभिन्न जातका बिरुवा रोपेर नेपाल महिला संघका अगुवा महिलाले स्थापना दिवस मनाएका हुन् । चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि तत्कालीन नेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएर नेपाल महिला संघको नामकरणसंगै संस्था स्थापना गरेका थिए । सो भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेको थियो ।

महिला अधिकारका लागि राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाको प्रवेशका लागि कोशेढुंगाका रूपमा लिने गरिएको नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सदस्य उत्तम चौलागाईले बताए । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको उनले जानकारी दिए । नेपालमा महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना गरि लोकतान्त्रिक राज्य व्यवस्थामा मूल्य मान्यता पद्धतिको स्थापनाको उद्धेश्य भएपछिको २००७ सालको राणा विरोधी आन्दोलन , २०३६ सालको जनमतसंग्रह , २०४६ सालको जनआन्दोलन भागः– १ र २०६२÷ ०६३ सालको जनआन्दोलन भाग–२ मा महिलाको भूमिका अहम् रहेको पार्टीका प्रदेश समिति सदस्य किरण भट्टराईले बताए । उनले यस्ता विभिन्न राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी ऐतिहासिक जिम्मेवारी महिलाले निर्वाह गरेको बताए । तत्कालीन समयमा नेपाल महिला संघले खेलेको भूमिकालाई अब अझ बढी सशक्त तरिकाले अघि बढाउन नेपाल महिला संघलाई पार्टीका महासमिति सदस्य मचिन्द्र शेर्माले आव्हान गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेतले पनि मन्तव्य राखेका थिए ।

संघकी उपसभापति खनिमाया श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सहजीकरण संघकी नगर सचिव सीता बाँस्कोटाले गरेकी थिइन् । कार्यक्रम नेपाल महिला संघ शिवसताक्षीकी सभापति लोचना लावतीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्