विनोद सापकोटा,
झापा । झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई मन्त्रालय फिर्ता पठाउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।


नगरपालिकाको कार्यालयमा बिहीवार बसेको कार्यपालिका बैठकले पटकपटक विवादमा आएका प्रमुख प्रशासकीय अधिकृत राईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको नगरकार्यपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए ।

शिवसताक्षी नगरपालिकामा ‘कन्सल्टेन्सी’ सँगको मिलेमतोमा केही कर्मचारीले सेवाग्राहीलाई घर नक्साको किर्ते प्रमाणपत्र प्रदान गरेका थिए । घर नक्सा किर्ते प्रकरण छानबिनका लागि गठित समितिले गएको बैशाखमा नगर प्रमुखलाई प्रतिवेदन बुझाएपनि प्रमुख प्रशासकीय अधिकृतकै कारण कार्यान्वयनमा आउन नसकेको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राईले घर नक्सा किर्ते प्रकरणमा संलग्न कर्मचारीको बचाउ गरिरहेको आरोप लागेको छ । नगरकार्यपालिकाद्वारा गठित छानविन समितिको प्रतिवेदनका केही बुँदा संशोधन गरेपछि मात्र प्रतिवेदन कार्यान्वयन गर्ने मनस्थितिमा प्रमुख प्रशासकीय अधिकृत रहेको बताइएको छ । तर छानविन समिति घटनामा जो कोही संलग्न भएपनि निर्मम कार्वाही गर्ने सोचमा रहेको छ ।

कार्यपालिका बैठकमा छानबिन समितिले दिएको घर नक्सा किर्ते प्रकरणको प्रतिवेदन कार्यान्वयनको विषय बिहीवारको बैठकको एजेन्डामै थियो । सो विषय प्रवेश गर्नासाथ कार्यपालिका सदस्यले घर नक्सा किर्ते प्रकरणको प्रतिवेदन अघिल्ला कार्यपालिकाको बैठकको निर्णयअनुसार कार्यान्वयन गर्नुपर्ने भन्दै कुरा उठाए । यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत एक्कासि जंगिएको बताइएको छ । कार्यपालिकाका बैठकमै शिवसताक्षी नगरका जनप्रतिनिधिमाथि प्रमुख प्रशासकीय अधिकृत राईले गरेको व्यवहारमाथि अन्य जनप्रतिनिधिले प्रश्न उठाएपछि प्रमुख प्रशासकीय अधिकृत राई कार्यपालिका बैठक नै छोडेर बाहिरिएका थिए । बैठकमा प्रमुख प्रशासकिय अधिकृत राईले ६ नम्बर वडा अध्यक्षमाथि घर नक्सा किर्ते प्रकरण छानविन समितिको बैठकमा भएका गतिविधि स्थानीय पत्रकारलाई सूचना दिएको आरोप लगाएका थिए । वडा अध्यक्षले आरोपको खण्डन गर्दै प्रमाण पुर्याउन प्रमुख प्रशासकीय अधिकृतलाई चुनौती दिएपछि राई र वडा अध्यक्षविच भनाभन भएको बैठकमा सहभागी एक कार्यपालिका सदस्यले बताए ।

घर नक्सा किर्ते प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाही गर्ने अघिल्लो कार्यपालिका बैठकमा निर्णय भएको थियो । जतिबेला उपप्रमुख नरमाया कार्कीको संयोजकत्वमा छानबिन समिति गठन हुँदै थियो । उपप्रमुख कार्की नेतृत्वको छानविन समिति गठन हुनुअगाडी वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

सो समितिले पनि आफ्नो कार्य सम्पन्न गरेर सोको प्रतिवेदन कार्यपालिका बैठकमा नगर प्रमुखलाई बुझाएको थियो । ती दुवै समिति गठन हुनुपूर्वको कार्यपालिकाको निर्णयलाई टेकेर दाषी देखिएका कर्मचारीलाई कार्वाही गर्ने निर्णय भएको वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्