झापा,साउन २५ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । कोरोना महामारीपछि रोकिएको परीक्षाको नतिजा लामो समयदेखि प्रकाशन हुन सकेको थिएन । जसले गर्दा पनिकालाई चाप बढेको थियो ।

एकातिर पुरानो नतिजा प्रकाशन गर्नुपर्ने थियो भने अर्कोतिर नयाँ परीक्षा गराउनु र नतिजा प्रकाशन गर्नुपर्ने चुनौती थियो । तर, अहिले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत जेठदेखि हालसम्म २५ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक गरिएको बताए । जसमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न सफल भएको उनको भनाइ छ ।

करिब तीन महिनाको अवधिमा पनिकाले २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्न सफल भएको हो । अब पुराना तीन विषयको नतिजामात्रै प्रकाशन गर्न बाँकी रहेको उनले बताए । तीमध्ये २ विषयको नतिजा यसै महिनाभित्र आउने र एउटाको नतिजा भदौैमा आउने उनको भनाइ छ ।

साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ । ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजिनक भएको हो । त्यस्तै पोलिटिकल साइन्सको नतिजासमेत ११ दिनमै सार्वजनिक भएको थियो । एमबीएस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको छ ।

त्यस्तै एमए प्रथम वर्ष (पार्सियल) को नतिजा समेत परीक्षा सकिएको ४ दिनमै सार्वजनिक भएको छ । जबकि यसअघि अघिल्ला वर्षहरूमा उक्त नतिजा सार्वजनिक गर्न कम्तीमा ६ महिना लाग्ने गरेको थियो । बढी विद्यार्थीले परीक्षा दिएका विषयहरूमा भने कोरोना महामारीपछि २ वर्षसम्ममा समेत नतिजा सार्वजनिक हुन सकेको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्