झापा,साउन २५ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पाले छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् । छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उनीमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई चरम यातना दिने गरेको खुलेको हो । गाउँदेखि एकान्तमा शेर्पाको घर छ । शेर्पाले लामो समयदेखि छोरालाई यातना दिने गरेको रहस्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत बाहिरिएको हो।

शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलोमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पा छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गरेका थिए । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छिन् ।

नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पा बताउछिन् । आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिँचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साइप्रसबाट शेर्पाले बताइन् ।

यस्तै, शेर्पाका चार सन्तानमध्ये एक जना बेपत्ता छन् । उनी बेपत्ता भएको करिब नौ वर्ष भएको स्थानीयको भनाइ छ ।

खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष ङवाङफुरी शेर्पाले आफ्ना छोरालाई धेरै यातना दिने गरेको पुष्टि गरिन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाइएको र छोराहरुको उद्धार गरेर स्वास्थ्य परीक्षण गराइएको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्