लक्ष्मी उप्रेती,
 
मेचीनगर ।  झापाली स्रष्टा लेखक सुभद्रा भट्टराईको तेस्रो कृति ‘प्रेमका पाँच औंला’ बजारमा आएको छ ।

विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कथा, कवितालगायतका रचना लेख्ने नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्यसमेत रहेकी स्रष्टा भट्टराईको यसअघि ‘स्मृतिका डोबहरु २०७४’ र ‘भुइँफूल २०७८’ बजारमा आइसकेको छ । यी दुवै कृति भट्टराईका कविता संग्रह हुन् । कृतिकार भट्टराई पेशाले शिक्षक हुन् ।

बिहीवार निबन्धकार एवम् नियात्राकार युवराज नयाँघरे र डा. शुकराज दियालीले संयुक्तरुपमा लोकार्पण गरेको उनको तेस्रो कृति ‘प्रेमका पाँच औंला’पनि कविता संग्रह हो । संयोग पनि मिलेको कवि भट्टराईले आफ्नो जीवनसाथी दुर्गाराम अर्यालको जन्मदिनको अवसरमा उपहारस्वरुप तेस्रो कृतिका रुपमा ‘प्रेमका पाँच औंला’ बजारमा ल्याएकी छन् । कृति समेत उनीप्रति नै समर्पण गरिएको छ । कवि सुभद्राले उपस्थित सबै अतिथि तथा आफन्तजनलाई सम्मान व्यक्त गर्दै आफ्नो कृतिको एउटा कविता वाचन गरेपछि लोकार्पण कार्यक्रम प्रारम्भ भएको थियो ।

एकसय ४४ पृष्ठ रहेको कविता संग्रह ‘प्रेमका पाँच औंला’ को प्राध्यापक डा. गंगाराम अधिकारीले समीक्षा गरे । कृतिको समीक्षा गर्दै नेपाली कविताको नयाँ बान्की यो कवितामा रहेको र सुदूरपूर्वको स्वाद यो संग्रहको मूल आधार रहेको समीक्षक डा. अधिकारीले बताए ।

साहित्यकार तेराख प्रतिष्ठानले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजना गरेको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि निबन्धकार नयाँघरेले स्थानीयता झल्किने काव्यिक स्वाद यी कविताले बोलेको स्पष्ट पारे । ‘समाजबाट पर रहेको साहित्यले जनमनमा ठाउँ पाउँदैन’ उनले सुनाए ।

साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर —९ धुलाबारी झापा प्रकाशक रहेको ‘प्रेमका पाँच औंला’ मा मान्छे, हृदय र प्रकृति तीन भागमा छुट्टाछुट्टै ५३ वटा रचना पढन पाइन्छ, । विभिन्न सञ्चारमाध्यममा आफ्ना लेख रचना प्रकाशित गर्दै आएकी कवि भट्टराईका यो कृतिमा समावेश गरिएका कविताहरु अहिलेसम्म कहिकतै नछापिएका नवीनतम् हुन् । जीवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर समाजका मसिना पक्षको अध्ययन गरी आफूले कविता संग्रह तयार पारेको स्रष्टा भट्टराईले बताइन् । चुलोचौका तथा विद्यालयको समयबाट बचेको राति र दिउँसोको समय फुर्सद निकालेर करिव छ महिनाको अवधिमा यी कविता लेखिएका छन् । अधिकाँश रचना रात्रिकालीन लेखिएका छन् ।

कसरी बिताउँछन् होला शासकहरुले
दिनु रात र समय
म देख्दिन गति लिएको देशले
देशलाई दाउमा राखेर
चलाउँदैंछन् राज्य सत्तामा बस्नेले
आफ्नो गुजारा

जोड्दैछन् देश बेचेर
अकुत सम्पति
न दृष्टि छ, न सोच
उनीहरु त उकालो चढ्न छोडेर
ओरालो झार्दैछन्
आमा समानको देश

  मान्छे खण्डको ‘सपनाको एक तह’ शीर्षकको कविताको एक अंश हो । यहि कविताबाट प्रारम्भ भएर प्रकृति खण्डको ‘जूनको गुनासो ’शीर्षकको कविताबाट अन्त्य भएको छ कृतिमा समावेश गरिएका कविताहरु । उनका कविता देशभक्तिप्रति ओतप्रोत छन् । 

मेचीवारी र मेचीपारीका थुप्रै स्रष्टा तथा साहित्य अनुरागीहरूले खचाखच भरिएको कृति लोकार्पणस्थलमा प्रमुख अतिथि प्रसिद्ध निवन्धकार नयाँघरेले भट्टराईको कृतिभित्रको एउटा कविता वाचन गरेपछि कार्यक्रम स्थलमा साहित्यिक माहोल तातेको थियो । त्यसपछि कवि गोष्ठी सुरु भयो । पुण्य बराल, गणेश निरौला, विवश बलिभद्र कोइराला, जय आचार्य, लतिका जोशी, टंक विकल्प, तुलसीप्रसाद भट्टराई, विरही अधिकारी, जेबी खत्री, शारदा कार्की, अमृता पाठक चौंलागाईं, चित्रा पौडेल, पुष्प काफ्ले, सुशान्त नन्दी, राहुल राई, ललिता जोशी, सेजल दाहाल तथा आकृति दाहाललगायत वारीका झापा मोरङ सुनसरीसम्म र पारी पश्चिम बंगालदेखि आसाम राज्य) सिलिगुडी, खर्साङदेखि आसाम मणिपुरसम्मका कवि कवियत्रीहरुले आ—आफ्ना रचना सुनाएका थिए । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय भण्डारी र प्रतिष्ठानका सदस्य मुना रानाले स्वागत गरेका थिए ।साहित्यिक समारोहमा ललिता जोशी, निशिकान्त दास, शिवकुमार पौडेल, जय भण्डारीलगायतले आ—आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमका अवसरमा कवि भट्टराईका गुरु दिलिप अधिकारीलाई सम्मान गरियो । कवि भट्टराई दम्पति मिलेर जन्म र कर्म दिने आमाहरुलाई सम्मान गरेका थिए । आख्यानकार पुण्यप्रसाद खरेल, वरिष्ठ पत्रकार, गीतकार चन्द्र भण्डारी, डा.शुकराज दियाली , संविधानसभा सदस्य रविन कोइराला, काँकरभिट्टा, बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, राहुल राई,निशिकान्त सिन्हा, मुक्ति उपाध्याय बराल, देविका सुब्बा खवास, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, काँकरभिट्टा मा.वि.का पूर्व प्रधानाध्यापक दिलिप अधिकारी, साहित्यकार राम कट्टेल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौलालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्