झापा, साउन २६ । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँ र रोटरी क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका १६४ जना विद्यार्थीहरूलाई स्कुल ब्यागका साथै शिक्षण सामग्री वितरण गरिएको छ।

विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो। रोटरी क्लब डिल्लीबजारका प्रेसिडेन्ट सागरनिधि तिवारीको अध्यक्षतामा भएको समारोहमा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि रहेका थिए । रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोकाको पहलमा उक्त सामग्री व्यवस्थापन गरिएको थियो। रोटरी क्लब अफ बिर्तामोडले संयोजन गरेको सो कार्यक्रममा कक्षा ६ देखि ८ सम्म अध्ययनरत १६४ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।


नगरपालिकाका उपप्रमुख संग्रौलाले रोटरी क्लबले स्थानीय स्तरमा सञ्चालित सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई स्कुल ब्यागसहितको शैक्षिक सामग्री प्रदान गरेर विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याएकोमा आभार व्यक्त गरे । साथै रोटरी क्लबले स्थानीय तहसँगको साझेदारीमा ह्विल चेयरलगायतका सामग्रीहरू प्रदान गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको उनले प्रशंसा गरे ।


रोटरी क्लब अफ डिल्लीबजारका प्रेसिडेन्ट सागरनिधि तिवारीले रोटरी क्लबले देशका विभिन्न स्थानहरूमा सामाजिक सेवाहरू गर्दै आएको र नेपालको पूर्वी क्षेत्रमा रहेको दुर्गा माध्यमिक विद्यालयलाई सानो सहयोग गर्न सकेकोमा खुशी व्यक्त गर्दै विद्यालयको आवश्यकताअनुसार खानेपानी, शौचालय र साइकल पार्किङ साथै ग्राउन्ड पेबर्सका लागि प्राथमिकता साथ काम गरिरहेको बताए । सोही कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका सदस्य एवं कञ्चनजङ्गा माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने र परिवारले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि एक थान वासिङ मेसिन र पाँचवटा सेतो छडी हस्तान्तरण गरेका थिए । न्यौपानेले गरामनी क्षेत्रमा रहेका अन्य सामुदायिक विद्यालयहरू देवकोटा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई दुई– दुई थान कम्प्युटरसमेत प्रदान गरेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका तर्फबाट निवर्तमान अध्यक्ष सम्झना पोखरेल, उपाध्यक्ष युवराज रोका, कोषाध्यक्ष सन्ध्या राजभण्डारी ,आगामी अध्यक्ष प्रेम ओली ,सदस्य कृष्णराज दुलाललगायतको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ बिर्तामोडको तर्फबाट एसिस्टेन्ट गभर्नर सुजन प्रधान, विनोद बस्नेत, उपाध्यक्ष पार्वता खरेल बिमली, पूर्व अध्यक्ष सुरेश वंशल, निवर्तमान अध्यक्ष बबिता गिरी, सदस्यहरू शैलेन्द्र कुरुङवाङ, सुमित्रा भट्टराई, नवीन गट्टानी ,गुरुभक्त न्यौपाने, यसैगरी रोट्रयाक्ट क्लबका निवर्तमान अध्यक्ष बाप्पा शाह, सचिव कुशल अधिकारी, सदस्य रविन राजवंशीको समेत सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले स्वागत गरेको सो समारोहमा नगर उपप्रमुख संग्रौला, गुरुभक्त न्यौपाने, सागरनिधि तिवारी, सुरेशकुमार अग्रवाललगायतले मन्तव्य राखेका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरूले स्वागत गीत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्