झापा,साउन २८ । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।
उनका अनुसार २०७५ सालमा १०–१२ संख्यामा हात्ती रहेकामा हाल उक्त संख्या ३० भन्दा धेरै छ । “भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको संख्या बढ्दै गएको छ”, उनले भने, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सूक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको संख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।

जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ । “यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ”, उनले भने, “महिनैपिच्छे फल्नेगरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उपद्रव बढेको छ ।

हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए ।

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । “मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ”, उनले भने, “हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनले बताए । हात्ती समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उनले भने, “हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्