झापा, साउन २९ । मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले कमल गाउँपालिका वडा नम्बर–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको छ ।

ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोप उनीमाथि लागेको छ । मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले उनलाई सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो ।उनीविरुद्ध मानव बेचबिखनतथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी गौतम मिश्रले बताए । उनले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै मौरिसस पठाइदिने र केही समयमै ग्रिनकार्ड मिल्ने आश्वासन दिएका थिए । ती महिलाबाट उनले २ लाख ५० हजार रुपैयाँ समेत लिएको खुलेको छ । ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै २०८० माघ १३ गते मौरिसस पुर्याएका थिए ।

पूर्वयोजना अनुसार मौरिससस्थित एयरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए । मौरिसस नागरिकले भने नेपाली महिलालाई न्यौपानेमार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने , चरम यौन र श्रमशोषण गरेको आरोप छ ।मौरिसस नागरिकको घरबाट फरार भई उनले पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार २० गते नेपाल आएर ब्यूरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।

उनी हाल सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सदस्य तथा प्रशासन विभाग प्रमुख हुन्। मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका न्यौपाने जनमत पार्टीकी अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा अवैतनिक सल्लाहकारमा नियुक्त भएका थिए। सल्लाहकार हुँदा उनी निकै चर्चामा आएका थिए। ‘मन्त्रीको सल्लाहकार हुँ भन्दै’ जाम हटाउन प्रहरीलाई फोन गरेको उनको भिडिओ भाइरल बनेपछि विवादमा तानिएका थिए।

जनमत पार्टीमा जानुभन्दा अगाडि उनी नेपाली कांग्रेसमा रहेका थिए । उनी गत जेठ २६ गते कांग्रेस पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेका थिए ।

पार्टीका जिल्ला सभापति देउमान थेवेलाई संवोधन गर्दै अघिल्लो दिन ई–मेलमार्फत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका न्यौपाने भोलिपल्ट जनमत पार्टीमा प्रवेश गरेका थिए ।
२०४३ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका न्यौपाने गिरिजाप्रसाद कोइराला फाउण्डेसन झापाको जिल्ला अध्यक्षसमेत हुन् । नेविसंघ झापाको कोषाध्यक्ष र तत्कालीन तोपगाछी गाउँ विकास समितिको पार्टी सभापतिसमेत भएका न्यौपाने माओबादी द्वन्द्वको समयमा नेपालबाट बिस्थापित भएका थिए।

पूर्व गृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको सहायक स्वकीय सचिवको भूमिका समेत निर्वाह गरेका न्यौपाने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामा समकालिन नेता हुन्। पछिल्लो समय सिटौला समूह परित्याग गर्दै डा. शेखर कोइराला समूहमा लागेका न्यौपानेलाई गत संघीय संसदको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र छाडेर सुजाता कोइरालालाई जिताउन मोरङमा गएको भन्दै संघीय संसद र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले कारबाहीको माग गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्