साविकका कर्जामा पनि ब्याजदर घट्यो

झापा, साउन १९ । कोशी प्रदेशको झापा, इलाम र मोरङ कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुई वटा कर्जा बजारमा ल्याएको छ ।

बचत तथा ऋण, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योग जस्ता व्यवसाय सञ्चालन गरेर बहुव्यवसायमा सफलता हात पारेको एनएमसीको पहिलो र मुख्य व्यवसाय बचत तथा ऋण व्यवसाय हो । यही बचत तथा ऋण व्यवसायअन्तर्गत भदौ १ गतेदेखि लागू हुनेगरी संस्थाले दुई वटा कर्जा विशेष सहुलियतसहित जारी गरेको हो ।

दुईवटा कर्जामध्ये एउटा कर्जा मेरो घर कर्जा र अर्काे युवा उद्यमशील कर्जा रहेका छन् । घर निर्माण, घरको स्तरोन्नति, घर मर्मतलगायतका कामका लागि संस्थाद्वारा ‘मेरो घर मेरो कर्जा’को नारासहित मेरो घर कर्जा शीर्षकमा कर्जा प्रवाह गरिने छ । यस कर्जाको ब्याजदर मासिक किस्ता बुझाएमा ९ दशमलव ९९ प्रतिशत र त्रैमासिक किस्ता बुझाएमा १० दशमलव ५० प्रतिशत कायम गरिएको छ । यस शीर्षकको कर्जा सदस्यले एक करोडसम्म उपभोग गर्न सक्नेछन् ।


त्यसैगरी युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई विश्लेषण गर्दै संस्थाले ‘स्वदेशमै स्वरोजगार बनौँ’ भन्ने नारासहित ९ प्रतिशतको आकर्षक ब्याजदरमा युवा उद्यमशील कर्जा शीर्षकमा कर्जा प्रवाह गर्ने भएको हो । युवाहरुलाई स्वदेशमै उद्यमी बनाउने उद्देश्यले तयार गरिएको यो कर्जा साना तथा मझौला उद्योगीहरुका लागि तयार गरिएको हो । १० लाख रुपियाँसम्म उपभोग गर्न सकिने यस कर्जाले युवा उद्यमीलाई आकर्षित गर्ने संस्थाको बुझाई रहेको छ ।

संस्थाबाट जारी नयाँ कर्जाहरुको ब्याजदर २०८४ असार मसान्तसम्म यथावत रहने संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताए । संस्थाद्वारा तयार गरिएका दुवै नयाँ कर्जाले पुराना तथा नयाँ सदस्यलाई आकर्षित गर्ने उप्रेतीको विश्वास छ ।

संस्थाले दुई नयाँ प्रोडक्टका अतिरिक्त साविकमा सञ्चालनमा रहेका कर्जाहरुको समेत उल्लेख्य रुपमा ब्याजदर घटाएको छ । हालसम्म १८ हजारभन्दा बढी सदस्यहरुले संस्थाबाट कर्जा उपभोग गरिरहेका छन् । विद्यमान बैंकिङ प्रणालीमा आएको ब्याजदर परिवर्तनलाई विश्लेषण गर्दै संस्थाको बचत तथा ऋण व्यवसायअन्तर्गत सञ्चालनमा रहेका कर्जाका प्रोडक्टहरुमा ब्याजदर घटाइएको संस्थाले जनाएको छ । संस्थाको विद्यमान आधारदर र स्प्रेडदरको विश्लेषणसहित २०८१ भदौ १ गतेदेखि लागू हुने गरी संस्थाले कर्जाको ब्याजदर घटाएको हो ।


वि.सं. २०५० सालमा स्थापना भएको एनएमसी उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित तथा पुरस्कृत हुँदै आएको छ । संस्थाको हाल १ लाख ६५ हजारभन्दा बढी सदस्य, एक हजारभन्दा बढी समिति पदाधिकारी र करिब १२ सय जना कर्मचारीको सञ्जाल रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्