झापा, साउन२९ । सुनसरी प्रहरीले हवाई फायर गरी भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।


मंगलबार दिउँसो धरानबाट प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी७४एस२५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

धरान १५ स्थित श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार कारलाई रोक्ने प्रयास गर्दा तीव्र गतिमा अघि बढेको र पछ्याउँदै जाँदा करिब ३५ मिटरपर कार छाडी चालक जंगलतर्फ भागेको भण्डारीले जानकारी दिए । उक्त कार जाँच गर्दा प्लास्टिकको ५ वटा बोरामा एक सय केजी अवैध लागूऔषध गाँजा बरामद गरिएको भण्डारीले जनाए ।

कार चालक फरार रहेकाले खोजी कार्य भइरहेको र घटनाको थप अनुसन्धान सुरु गरेको भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्