झापा, साउन ३१ । नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् । हिजो दिउँसो ३.३० बजे पौडेलले हल्दिबारी गाउँपालिका वडा नं–२ प्रसाईं बस्तीस्थित नेपाली कांग्रेसका गाउँ समितिका सभापति गंगा प्रसाईंको घरमै आएर प्रसाई र उनकी बुहारी अन्दाजी बर्ष ३० की रेखा खरेल प्रसाईंमाथि धारिलो हतियार सिक्कल प्रहार गर्न खोजेका थिए । त्यहाँ भएका स्थानीयवासीले जोगाएका थिए । हल्दिवारी प्रहरीले उनलाई नियन्त्रणमा लिई साँझ ६.३० बजे जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाएको छ । प्रहरीले उनले प्रयोग गरेको प्र १–०१–०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

केही बर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले विगत एक बर्षदेखि सामाजिक संजालमार्फत बुहारी रेखालाई धम्क्याउने तथा गालीगलौज गर्दै आएका थिए । उनले ससुरा गंगा र बुहारी रेखालगायत प्रसाईं परिवारका अन्य सदस्यहरुको पनि सामाजिक संजालमार्फत चरित्र हत्या गरेपछि गत बर्षको चैत महिनामा पौडेलमाथि जिल्ला प्रहरी कार्यालय झापा र काठमाण्डौको हनुमान ढोकास्थित साइबर व्यूरोमा साइबर अपराधसम्बन्धी उजुरी गरिएको थियो । सोही विषयलाई लिएर पौडेलले रेखा र गंगालाई हतियार प्रहार गर्न खोजेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्