झापा, साउन ३१ । झापाको बिर्तामोडस्थित अदुवा खोलाछेउबाट छ लाख १५ हजार रुपैयाँ बराबरको मोबाइल फोनसहित गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले डब्ल्युबी ७४ एएक्स १९७४ नम्बरको हुन्डाई कम्पनीको भारतीय गाडीलाई जाँच गर्ने क्रममा भन्सार छलेर लुकाइछिपाई ल्याएको एप्पल कम्पनीको विभिन्न मोडेलको प्रयोग भइसकेको १२ थान मोबाइलसहित गाडी र चालकलाई पक्राउ गरिएको हो ।
भन्सार बीलबिनाको उक्त मोबाइल बुधवार नियन्त्रणमा लिइएको हो । भन्सार बीलबिनाको मोबाइल भेटिएकोले बरामद गरी गाडी र गाडी चालकलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
मोबाइलसहित गाडी र चालक मेचीनगर–१० का ३१ वर्षीय सुर मुखियालाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार बुझाइएको छ ।
त्यसैगरी, बुधवार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ काँकरभिट्टा भन्सारपछाडि हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर लुकाइछिपाई ल्याउँदै गरेको एक लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न सामग्री नियन्त्रणमा लिइएको छ ।
नियन्त्रण गरिएका सामग्रीमा तामाको जग २० वटा, बच्चाको जुत्ता ७१ जोर, चप्पल ९३ जोर रहेका छन् । त्यस्तै, मेचीपुलमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लुकाइछिपाई लैजाँदै गरेको ५५ किलो सुपारी नियन्त्रणमा लिएको छ ।
नियन्त्रण गरिएका सामग्री आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्