बिर्तामोड, साउन ३२ । बिर्तामोडमा तेस्रो लिङ्गीको नाममा आतंक बढ्दै गएको छ ।

आफूले भनेजति रकम दिनुपर्ने ,नदिए धम्की दिने , गाली गर्ने , अश्लील शव्द प्रयोग गर्ने , शरीरका संवेदनशील अंग देखाउने कार्यले मानिसहरु आतंकित बनेका छन् । तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरु बताउँछन् ।

आज साँझ बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरुले जवर्जस्ती रकम असुल्न खोजेका थिए । पाँच हजार सहयोग मागेकोमा आफूहरुले त्यति दिन नसक्ने बताएपछि तथानाम शव्द प्रयोग गरी अश्लील हर्कत उनीहरुले देखाएको सहकारीका प्रवन्धक रुद्र सिटौलाले बताए । संझाई बुझाई गर्दा नटेरेपछि प्रहरी बोलाएर उनीहरुलाई हटाउनु परेको सिटौलाले जानकारी दिए । विराट सहकारीसहित अन्य ठाउँमा पनि उनीहरुले थर्काउँदै सहयोग मागेको स्थानीयले बताएका छन् ।

बिर्तामोडमा केही महिनादेखि तेस्रो लिङ्गीको नाममा पसल–पसल र घर–घरमा गएर चन्दा माग्ने क्रम बढेको छ । त्यस विषयमा पीडितहरुले प्रहरीलाई जानकारी गराएका छन् । तर, उनीहरुलाई रोक्न सकिएको छैन । केही दिनअघि एक जना तेस्रो लिङ्गीलाई पक्राउ गर्दा उनीहरुले प्रहरी कार्यालय घेराउ गरेको बताइएको छ । बिर्तामोडमा नेपाल र भारतका गरी करिव सयजनाले तेस्रो लिङ्गीको नाममा सहयोग संकलन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्