बिर्तामोड,भदौ १ । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ ।

झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको हो ।
रेजिन सन् २०१९ मा १३ औँ साफ च्याम्पियनसीप, सहिद स्मारक ए डिभिजन लिग, सन् २०१८ मा भुटानमा भएको यु–१८ साफ च्याम्पियनसीपका स्वर्णधारी खेलाडी हुन् । त्यस्तै, रोहित यु–१५ र यु–२० साफ च्याम्पियसीपका टोली सदस्य हुन् । त्यस्तै, भद्रपुर झापा गोल्डकपका महिला फुटबल खेलाडी तथा प्रशिक्षकलाई एक–एक सेट जर्सी र फुटबल प्रदान गरिएको थियो ।

यसैबीच, सिल्को ग्रुप अफ कम्पनीले नेपालमा पहिलोपटक आफ्ना उत्पादनहरु भद्रपुरमा लन्च गरेको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता तपो स्पोर्टस प्रालि काठमाडौँले देशभर सिल्कोका उत्पादनहरु बिक्री वितरण गर्नेछ ।

सिल्कोले फुटबल, क्रिकेट लगायत सबै प्रमुख खेलका किट्स, जर्सी र एक्सोसरीहरु विगत ४५ वर्षदेखि उत्पादन गर्दै आएको छ । यो ब्रान्ड भारतको पश्चिम बंगाल, उत्तरपूर्वका राज्यहरु र भुटानमा लोकप्रिय छ ।
कार्यक्रमको अवसरमा सिल्को र तपो स्पोर्टस्बीच बिक्री वितरण सम्झौतामा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, सिल्कोका प्रबन्ध निर्देशक खोकन भट्टाचार्य , झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरव सुब्बाले स्वागत गरेका थिए भने महासचिव जीवनकुमार श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्