भद्रपुर, भदौ १। भद्रपुर– ६ स्थित मोरान मेमोरियल स्कुलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् ।

भद्रपुर, हल्दिवारी तथा कचनकवलका सीमान्तकृत विपन्न नागरिकका लागि लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिविरमा बाल रोग, फिजिसियन, आँखा, नाक, कान, घाँटी र दन्त रोगको उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो ।

नेपाल डटर्स अफ दि क्रस भद्रपुर–६ को तत्वावधानमा नेपाल जेसुईट संस्थाको प्रायोजन र ओम साई पाथिभरा अस्पताल भद्रपुर एवं मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा मोरेन मेमोरियल स्कुल भद्रपुर–६ को परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समन्वयकर्ता गोविन्द कोइरालाले जानकारी दिए ।

उनका अनुसार विभिन्न ३१४ जनाको स्वास्थ्य समस्याअन्तर्गत ओम साई पाथिभरा अस्पतालको विशेषज्ञ टोलीले फिजिसियन, स्त्री रोग, बाल रोग, दन्त परीक्षण र मेची नेत्रालय काँकरभिट्टाको टोलीले आँखा जाँच गरेका थिए भने विरामीलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो ।

डटर्स अफ दि क्रसका अध्यक्ष अम्बर बिष्टको अध्यक्षता तथा भद्रपुरं–६ का वडाध्यक्ष रतिया राजवंशीको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा डटर्स अफ दि क्रसको तर्फबाट सुपेरियर सिस्टर बिन्दु एफ सिले स्वागत गरेकी थिइन् । कार्यक्रममा भद्रपुर उपप्रमुख राधा कार्की, गुरुकुलकी अध्यक्ष शान्ता बराल, सामाजिक अभियन्ता आशा फुँयललगायतले अवलोकन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्