झापा, भदौ २ । गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्याएको छ ।

हावाहुरीले घरको छाना उडाएर , बिजुलीको पोल ढालेर क्षति गरेको हो । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो । कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीका इन्चार्ज सई टंक कोइरालाले बताए । रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै सुचारु गराएको उनले जानकारी दिए ।

त्यस्तै हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए । उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलावारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए । मेचीनगरको धाईजन, धुलाबारी , काँकडभिट्टामा पनि बिद्युत अबरुद्ध रहेको जनाइएको छ ।

हावाहुरीले आफूहरुको क्षेत्रमा निकै क्षति पुर्याएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । उनले बिजुलीको पोल र तारसंगै वडाबासीहरुको घरहरुमा पनि क्षति पुगेको जानकारी दिए । घरहरुमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

हावाहुरीले विभिन्न ठाउँहरुमा रुख ढालेर क्षति गरेको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले मानवीय क्षति नभएको जनाए । ‘जिल्लामा भएका भौतिक क्षतिहरुको संकलन गर्ने कार्य भइरहेको छ’ उनले भने,‘ मानवीय क्षति भएको जानकारी आएको छैन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्