झापा,भदौ २ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको संख्या क्रमशः बढेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढेको देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८÷७९ मा ४६ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आवमा बढेर ७२ प्रतिशत नेपाली श्रमिक दक्ष भएर विदेश गएका छन् । पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सिप परीक्षण गरेर जाने प्रवृत्तिको विकास भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८÷७९ मा वैदेशिक रोजगारमा जाने छ लाख ३० हजार ६८ जनामध्ये दुई लाख ९१ हजार ८८९ जना (४६ प्रतिशत) दक्ष भएर विदेश गएका थिए । आव २०७९÷८० मा सात लाख ७१ हजार २५३ जना विदेश गएकोमा पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गएको तथ्याङ्क छ । यस्तै गत आव २०८०÷८१ मा सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख ३२ हजार १२३ जना (७२ प्रतिशत) दक्ष भएर गए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या २५ प्रतिशतले बढेको देखिन्छ ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पुनः श्रम स्वीकृति लिएर जानेको तुलनामा नयाँ श्रमिक दक्ष भएर जाने संख्या बढेको जानकारी दिए । पछिल्लो वर्षमा पुनः श्रम स्वीकृति लिएर जानेले पनि सिप परीक्षण गरेर जाने गरेको उनको भनाइ छ । विदेश जानेमध्ये उच्च दक्ष, पेसागत कर्मचारी, दक्ष र अर्धदक्षको संख्या ७२ प्रतिशत पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगारका अनुसन्धानकर्ता रामेश्वर नेपालले पछिल्लो समयमा दक्ष भएर वैदेशिक रोजगारीमा जाने संख्या बढ्नुलाई राम्रो उपलब्धिका रूपमा लिन सकिने बताए । यो संख्या भारत, फिलिपिन्स, बङ्गलादेशलगायतका अन्य मुलुकका तुलनामा कम भए पनि नेपालका सन्दर्भमा भने सुधारिएको उनको भनाइ छ ।

रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने युवा सिपयुक्त प्रमाणपत्रका आधारमा जानुपर्ने प्रावधान थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको भए पनि यसको पूर्ण कार्यान्वयन हुन अहिलेसम्म नसकेको र पछिल्ला वर्षमा सुधार हुनुलाई सकारात्मक रूपमा लिन सकिने नेपालले बताए । विगतमा सिप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका थिए । तीन वर्षअघिसम्म विदेश जाने कुल संख्यामा ४६ प्रतिशत श्रमिक अदक्ष थिए । यसमध्ये महिला श्रमिकको हिस्सा बढी थियो । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपममूलक तालिम नलिएका युवालाई वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाएको थियो ।

अघिल्लो आवबाट बिदेसिने श्रमिक को संख्या वृद्धि भएर र पुनः श्रम स्वीकृति लिनेको संख्या बढी भएका कारण दक्ष श्रमिकका रूपमा जाने संख्या उच्च रहेको देखिन्छ । दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिकको आम्दानीका साथै सुरक्षा पनि उच्च हुने गरेको छ । दक्ष जनशक्तिले असुरक्षित काम पनि गर्नु पर्दैन । वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकास तालिम लिनुपर्ने भन्दै यसका लागि प्राविधिक र भौतिक पूर्वाधार विकास गरेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि दुई वर्षअघि अनलाइन प्रणालीमार्फत तालिमको ट्र्याकिङसमेत गर्ने गरी बाध्यात्मक बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्