धुलावारी,भदौ २ । सामान्य स्वास्थ्य परीक्षणका लागि महँगो निजी अस्पताल धाउनुपर्ने मेचीनगरवासीको बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले शुक्रवारबाट नगरमै १५ शैय्याको नगर आधारभूत अस्पताल सञ्चालनमा ल्याएसँगै नगरवासीको यो बाध्यताको अन्त्य भएको हो ।

आइतवार मेचीनगर— १० धुलावारी अस्पताल परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अस्पताल सञ्चालनमा आएको जानकारी दिएका छन् ।

विशेषज्ञ चिकित्सकसहितको आधारभूत नगर अस्पताल सञ्चालनमा आएपछि नगरका आर्थिक अवस्था कमजोर भएका, विपन्न परिवार बढी लाभान्वित हुने विश्वास लिइएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको नैसर्गिक अधिकार र हकको रुपमा स्थापित गरेको भन्दैं संघीय संरचनाको वस्तुगत धरातलमा आधारित रही गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहँुचमा पुर्याउन राज्यको दायित्व भएको नगर प्रमुख बुढाथोकीले बताए ।

निःशुल्क स्वास्थ्य सेवा हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारामा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । हरेक नागरिकले यो अधिकार सहजरुपमा प्राप्त गर्न सकून् भनेर ०७७ मंसिर १५ गते संघीय सरकारले सात वटै प्रदेशका ३ सय ९६ वटा स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पतालको शिलान्यास गरेको थियो ।

कार्यक्रममा नगर उपप्रमुख उप्रेतीले संविधानको धारा ३५ मा उल्लेख भएबमोजिम प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार भएकाले सबैलाई स्वास्थ्यको पहुँचमा पुर्याउन आधारभूत नगर अस्पताल सञ्चालनमा ल्याइएको स्पष्ट पारिन् ।

अस्पतालमा चारजना एमबीबीएस डाक्टर, पारामेडिक्ससहित २६ कर्मचारी कार्यरत रहेका छन् । अस्पतालबाट स्वास्थ्य वीमाबाट प्राप्त सवैखाले र अन्य ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने नगरको स्वास्थ्य शाखाले जनाएको छ । नसर्ने रोगको जाँच, गर्भवती सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधिबाट गर्ने सुरक्षित गर्भपतन, भिडियो एक्स–रे, ईसीजी, सुविधासम्पन्न प्रयोगशाला (ल्याव) कोभिड, डेंगु, जाँचलगायतका स्वास्थ्य जाँच तथा उपचार सेवा दिने र क्षयरोगको निःशुल्क परीक्षण गर्नेगरी अस्पतालमा जनशक्ति एवम् उपकरण व्यवस्थापन गरिएको शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन् । उनका अनुसार हाल आकस्मिक सेवा सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आशिष निरौलाले चौबीसै घण्टा प्रसुती सेवा प्रदान गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्