लक्ष्मी उप्रेती,

मेचीनगर । नेपालमा पेट्रोलियम पदार्थको माग घटेसंगै आपूर्ति पनि घट्न थालेको छ ।


अघिल्लो आर्थिक वर्ष ०७९÷८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷२०८१ मा काँकरभिट्टा नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थको आयातमा कमि आएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९÷०८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷२०८१ मा काँकरभिट्टा नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थको आयातमा ९७ करोड ९४ लाख १५ हजार रुपैयाँले कमि आएको छ ।

कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनुसार २१ अर्ब ७३ करोड ३६ लाख ३ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आर्थिक वर्ष २०७९÷०८० मा काँकरभिट्टा नाका भएर आयात गरिएको थियो । गत आर्थिक वर्ष २०८०÷०८१ को एकवर्षे अवधिमा २० अर्ब ७५ करोड ९४ लाख आठ हजार रुपैयाँको मात्र त्यस्ता पदार्थ भित्रिएका छन् ।

भन्सार अधिकारी कँडेलका अनुसार पूर्वीनाका भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टितेलको आयात आर्थिक वर्ष २०८०÷०८१ को शुरुदेखि नै घट्दो क्रममा रहेको थियो । आर्थिक वर्ष ०७९÷०८० को एकवर्षको अवधिमा काँकरभिट्टा नाका भएर नौ अर्ब २४ करोड ४८ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको ९४ हजार ५२ किलोलिटर पेट्रोल आयात भएको छ । आर्थिक वर्ष २०८० ÷०८१ मा नौ अर्ब ३७ करोड २१ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको ९४ हजार तीनसय ८८ किलोलिटर पेट्रोल आयात भएको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा यो नाका भएर भित्रिने पेट्रोलियम पदार्थमध्ये पेट्रोलको आयातमा मात्र बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा आव २०८०÷०८१ मा पेट्रोलको आयात १२ करोड ७३ लाख ४४ हजार रुपैयाँले बृद्धि भएको हो । तर, अन्य पेट्रोलियम पदार्थको आयात ह्वात्तै घटेको छ ।

अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसत दरले पेट्रोलियमको खपत बढ्ने गरेको थियो । गत आवमा भने इन्धन खपतमा खासै सुधार नआएको भन्सार अधिकारीहरुको भनाई छ । झण्डै डेढ–दुई वर्षअघि नेपाल आयल निगम घाटामा हुँदा भने पेट्रोलियम पदार्थको खपत उच्च थियो ।

एक भन्सार अधिकारीका अनुसार पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको खपत घटनुको मुख्य कारण भारतमा भन्दा नेपालमा महँगो हुँदाको परिणाम हो ।

मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नविन कोइराला पेट्रोलियम पदार्थको आयात परिमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास निर्माणमा काम कम हुनु नै प्रमुख कारण भएको बताउँछन् ।

पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घट्न थालेपछि त्यसको असर मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको छ ।

मेची भन्सार कार्यालय काँकभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार कार्यालयले संकलन गर्ने कुल राजस्वमध्ये ६० देखि ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थले थामेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयले ७० दशमलव १५ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्य भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टा पछिल्लो समय राजस्व असुलीमा पछि परेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयको राजस्व असुली ७८ दशमलव ४० प्रतिशतमात्र छ । पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्