झापा,भदौ ३ । झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु भएको छ । झाडापखालाका कारण जलवियोजन हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका दिप्सन भुजेलको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डा. रुपेश संग्रौलाले बताए ।
जलवियोजन भएका कारण मुटुको धड्कन रोकिएको अवस्थामा बालकलाई आइतबार दिउँसो ३ः४५ बजे जिल्ला अस्पतालमा पु¥याइएको थियो । अन्तिम अवस्थामा अस्पताल पु¥याएको बालकलाई केही समयपछि मृत घोषणा गरिएको थियो ।बुवा देवराज र आमा अनु भुजेलको दुई छोरी र एक छोरामध्ये कान्छो सन्तान हुन्, दिप्सन । उनी दुई दिन अघिदेखि निरन्तर पखाला लाग्ने र वान्ता हुने समस्याबाट बिरामी परेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइतबार बिहान ९ बजे स्वास्थ्यचौकी याम्खाका सिनियर अहेव सौजन राईलाई खबर गरिएको थियो । सिनियर अहेव राई घरैमा पुगेर प्राथमिक उपचार गरेर फर्किएका थिए ।

स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि बालकलाई अस्पताल लगिएको थियो । स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाँक्री गरेका कारण बालकको ज्यान गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

विपन्न परिवारका भएका कारण शवलाई चन्दा उठाएको पैसाले जिप रिजर्भ गरेर गाउँ फर्काइएको छ । देवराजको घरमा आमा र छोरी समेत झाडापखालाबाट बिरामी छन् । सिनियर अहेव राईका अनुसार दुई तीन दिन यता स्वास्थ्य चौकीमा झाडापखालाको समस्या भएका बिरामी आउन थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्