झापा, भदौ ३ । झापाको कन्काई नगरपालिका ७ दुर्गापुर चोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमान–श्रीमती र बाबु–छोरा घाइते भएका छन् ।

आज दिउँसो २.१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी– ७ गोलुगाउँ बस्ने बर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती बर्ष ३८ की सरिता राजवंशी घाइते भएका छन् । शरीरको बिभिन्न भागमा चोट लागेर घाइते दुबै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मे ८ प ४३२९ नम्बरको मोटरसाइकल चालक कन्काई – १ प्रजापति टोल बस्ने बर्ष ५० का शान्तिराम खड्का र पछाडी सवार उनका छोरा बर्ष १४ का आर्जल खड्का पनि घाइते भएका छन् । सामान्य अवस्थाका शान्तिराम र गंभीर अवस्थाका आर्जलको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारीसाधन इलाका प्रहरी सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्