उर्लाबारी, भदौ , ४ । उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् ।

गत साउन ३२ गते शुक्रवार दिउँसो करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउँपालिका–७ मा कार्कीले चलाएको प्र–१–०१–०१६ प ८२३५ नम्बरको मोटरसाइकलबाट लडेर उर्लाबारी–४ की ४२ बर्षिया शर्मिला बोहोरा घाइते भएकी थिइन् ।

घाइते बोहोरालाई स्थानीय प्रहरी र कार्कीको सहयोगमा उपचारका लागि मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो ।

त्यहाँ बोहोरोको उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन साँझ ७ः४० बजे विराटनगरस्थित विराट शिक्षण अस्पताल रिफर गरिएको थियो । बोहोराको हिजो विहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

बोहोराको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारले हिजो इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका छन् ।

जाहेरीपश्चात् प्रहरीले ५० वर्षीय कार्कीलाई नियन्त्रणमा दिएर सवारी ज्यान मुद्दा चलाउने तयारी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।

मृतकका आफन्त सुनिल बोहोराले कार्कीले घटना घटेको ३ दिनसम्म पनि अभिभावकलाई जानकारी नगराई अस्पताल लगेर लापरबाही तरिकाले उपचार गराउँदा मृत्यु भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्