झापा,भदौ ५ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका सेवाग्राही समयमा परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रको थुप्रो लाग्न थालेको छ । माथिबाट राष्ट्रिय परिचयपत्र आए पनि सम्बन्धित सेवाग्राही नआउँदा परिचयपत्र थुप्रिएको हो ।

आएकामध्ये पाँच हजार ८७८ परिचयपत्र वितरण गरिएको र अहिलेसम्म ३० हजार ५१० परिचयपत्र प्रशासन कार्यालयमै रहेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताए । उनले भने, “अहिले राष्ट्रिय परिचयपत्रको नम्बर भए धेरै ठाउँमा काम चल्ने गरेको छ । फोटो खिचेपछि आफ्नो मोबाइलमै नम्बर आउँछ, नम्बरले काम चल्दै गरेकाले पनि होला परिचयपत्रवाहक सेवाग्राही लिन नआएका ।” गृह मन्त्रालयले पालिका वा वडासम्मै पुगेर परिचयपत्र दिने वा नदिने टुङ्गो दिई नसकेकाले पनि जिल्ला प्रशासनमै परिचयपत्र थुप्रिएको उनको भनाइ छ । पालिका अथवा वडामा गएर यो परिचयपत्र दिन त्यति सजिलो भने छैन । सम्बन्धित व्यक्ति आफैँ उपस्थित भएर परिचयपत्र लिनुपर्ने हुन्छ । उनले भने, “पहिला जसरी फोटो खिचिएको छ कार्ड लिने बेलामा पनि औँठा छाप र आँखाको रेटिना त्यो मेसिनले ‘रिड’ गरेपछि मात्र कार्ड लागु हुन्छ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्