झापा, भदौ ६ । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुईजना मेची पुलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा न. ११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी नगरपालिका वडा न. २ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट प्लाष्टिकसहित ३ ग्राम २३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजो साँझ सवा ६ बजे सोही मेची पुलमै प्लाष्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित भण्डारी पक्राउ परेका छन् । मुखभित्र लुकाई छिपाई ब्राउनसुगर ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्