झापा, भदौ ६ । झापा बिर्तामोड २ चारपाने निवासी तिलकचन राजवंशीमाथि नियोजित ठगी भएको भन्दै राजवंशी समाज विकास समिति झापाले न्याय दिलाउन आव्हान गरेको छ ।

राजवंशी समाज विकास समिति झापाले प्रेस विज्ञप्ति जारी गरी अहिले बैंकको ब्याज बढेर साँवा र ब्याज गरी सबै तिलकचनको जग्गा लिलाम हुने स्थितिमा रहेकोले सम्पूर्ण सरोकारवाला संघ संस्था तथा जनसमुदायलाई यो नियोजित ठगीबारे छानबिन गरी न्याय दिलाउन आव्हान गरेको हो । समितिका अध्यक्ष उत्तम राजवंशी र सचिव सोहनलाल राजवंशीद्वारा जारी विज्ञप्तिमा तिलकचनलाई बैंकको मिलेमतोमा फसाएको ठहर गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ,‘ पहिलाको साझेदारको नाममा रहेको सबै ऋण यो कम्पनीको नयाँ शेयर सदस्य तिलकचन राजवंशीको जग्गा र कम्पनीको नाममा रहेको जग्गा धितो राखी बैंकले ऋण जारी गरेकोबाट चुक्ता गरियो र पुराना साझेदारहरु सजिलै घाटा पूर्ति नगरीकन विदा भए । यो योजनाभित्र बैंकको पनि मिलेमतो देखिन्छ । किनकि जतिखेर प्रा. लि. को नाममा ऋण जारी हुँदै थियो, त्यतिखेर नै तिलकचन राजवंशीलाई जानकारी दिनुपथ्र्यो कि तपाईको धितोबाट यति ऋण जारी हुँदैछ भनेर । तर, योसंग सम्बन्धित सबै सूचनाबाट तिलकचन राजवंशीलाई बन्चित गरिएको छ ।’

यसअघि राजवंशी समाज विकास समिति बिर्तामोडले पनि विज्ञप्ति जारी गरी दोषीमाथि कार्वाही गरी तिलकचनको जग्गा फिर्ता गराउन माग गरेको थियो ।

बिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लब मैनालीले संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स नामक हार्डवेयर होलसेल पसल सञ्चालनमा ल्याएका थिए । मैनालीले व्यवसाय छोडेपछि तिलकचन र बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिएका थिए । त्यसपछि उनीहरुले साविक ओम शिवम् ट्रेडर्सको नाम परिवर्तन गरी ओम शिवम् ट्रेडर्स प्रालि राखेका थिए ।

तीन सदस्यीय नयाँ कम्पनीमा संग्रौलाले ५० लाख र तिलकचनले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको बताइएको छ । तिलकचनको नाममा बिर्तामोड–२ मा रहेको एक कठ्ठा १२ धुर जग्गा राखेर एनआइसी एसियाको सुरुङ्गा शाखाबाट २ करोड २४ लाख ऋण निकालिएको छ । कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल र बैंकका कर्मचारीको मिलेमतोमा अधिक मूल्यांकन गरेर ऋण निकालिएको तिलकचनको आरोप छ । जुन जग्गा लिलामी हुन लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्