भद्रपुर,भदौ ६ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले जिल्ला प्रहरी कार्यालयमा रहेको शिशु स्याहार कक्षलाई खाट र कोक्रो प्रदान गरेको छ ।

समूहले सखुवा जातको काठबाट निर्मित लो बेड र बच्चालाई सहजै सुताउन सकिने कोक्रो प्रदान गरेको हो। सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीले वन समूहमार्फत उपलब्ध उक्त सामग्री जिल्ला प्रहरी कार्यालयमा पुगेर समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई , सेवाकेन्द्र अध्यक्ष दुर्गा पाठकलगायतले प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख केसीले उक्त सामग्री सेवाग्राही आमा तथा बच्चालाई अत्यन्त उपयोगी रहेको बताए ।

वन समूहका अध्यक्ष भट्टराईले समूहले सेवाकेन्द्रको अनुरोधमा लगभग ५० हजार मूल्य बराबरको लो बेड र कोक्रो उपलब्ध गराएको बताए । उनले भद्रपुर ९ को पुष्पलाल चोकमा गुण्डागर्दी र चोरी बढेको भन्दै विगत २ बर्षदेखि प्रहरी बिट राख्न माग गरिएपनि सुनुवाई नभएको गुनासो गरे ।

सेवाकेन्द्रका सचिव खड्गबहादुर बुढाथोकीले संचालन गरेको कार्यक्रममा समाजसेवी देवेन्द्र गौतम, नरेश सन्जेललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्