कनकाई, भदौ ६ ।झापाको कनकाई नगरपालिकाले लामो समयदेखि डम्पिङ साइड बनाउँदै आएको तराईकै पहिलो सामुदायिक वन फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ ।

पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा स्थापित पवित्र कनकाई नदी साथै धार्मिक क्षेत्र कोटीहोम परिसर आसपासको कनकाई सामुदायिक वनक्षेत्र लामो समयदेखि कनकाई नगरपालिकाको डम्पिङ साइड बनेको हो ।
कनकाई–२ स्थित सुकेडाँगीको कनकाई–बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा फोहोर वर्गीकरण (सेग्रीगेसन) मेसिन बन्द भएका कारण कनकाई नगरक्षेत्रको प्लाष्टिकजन्य फोहोरसँगै सबै किसिमका फोहोर वनक्षेत्रमा फाल्न थालेपछि स्थानीय स्तरमा दुर्गन्ध बढेको बताइएको छ ।

कम्पनीमा जम्मा भएको फोहोरले ग्रामीण क्षेत्रमा दुर्गन्ध बढेको भन्दै स्थानीयबासीबाट अवरोध आएपछि फोहोर वर्गीकरण गर्ने मेसिन बन्द गरिएको हो । वनक्षेत्रमा रहेको डम्पिङ साइडमा फालिएको फोहोरबाट समेत दुर्गन्ध बढेसँगै विभिन्न किसिमका रोग फैलने डरका कारण वन आसपासका स्थानीयबासीले केही दिनअघि फोहोर संकलन गरेर आएको कनकाई नगरपालिकाको गाडीलाई अवरोध गरेका थिए ।
ग्रामीण क्षेत्रको बाटो हुँदै सामुदायिक वनतर्फ फोहोर लिएर गएका ट्रयाक्टर र टिपरबाट दुर्गन्ध फैलिएको साथै बाटामा फोहोर फाल्दै हिडेका कारण मानव स्वास्थ्यमा समस्या हुने गरेको भन्दै स्थानीयबासीले फोहोर लिएर गएको गाडीलाई अवरोध गरेको नगरपालिकाका सफाई कर्मचारीहरु बताउँछन् । स्थानीयबासीबाट अवरोध भएपछि सफाई कर्मचारीले अहिले कोटीहोम धार्मिक क्षेत्र आसपासको बाटो हुँदै सामुदायिक वनको डम्पिङ साइडमा फोहोर थुपार्ने गरेको बताइएको छ ।

विभिन्न मठमन्दिर, प्रहरीका नाममा निर्माण भएपनि हाल मजदुर बस्दै आएको घर, चौतारी, खेलमैदान, आवश्यकताभन्दा बढी निर्माण भएका बाटाहरु, कृषि बजारसँगै निर्माण भएका संरचनाहरुका कारण कनकाई सामुदायिक वन हरेक वर्ष अतिक्रमणको चपेटामा पर्दै आएको सरोकारवाला बताउँछन् ।

वनक्षेत्रमा रहेको डम्पिङ साइडमा बजार क्षेत्रसहित गाउँ–घरको सबै किसिमको फोहोर, मासु पसल, सैलुन, मेडिकलबाट निस्किने फोहोर डम्पिङ साइडमा फ्याकिएका छन् । त्यसैगरी डाइफर, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, अन्य बोतल फालिएको देख्न सकिन्छ।

स्थानीय सरकारले फोहोरलाई जतिसक्दो चाँडो अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने भन्दै कनकाई सामुदायिक वन समूहका अध्यक्ष खेमप्रसाद ओलीले सामुदायिक वन फोहोर व्यवस्थापनको दिर्घकालीन समाधानको क्षेत्र नभएको बताएका छन् ।

कनकाई नगर क्षेत्रमा फोहोर व्यवस्थापनको ठूलो समस्या भएपछि नगरपालिकाको अनुरोधमा केही वर्षअघि छोटो समयका लागि स्थान उपलव्ध गराएको भन्दै वन समूहका अध्यक्ष ओलीले अब कनकाई नगरपालिकाले सामुदायिक वनलाई डम्पिङ साइड बनाउन नहुने सुझाव दिए । स्थानीय उपभोक्ताहरुबाट समेत पटक–पटक अवरोध सिर्जना भएका कारण फोहोरको बैकल्पिक व्यवस्थापनका लागि नगरपालिका गम्भीर हुनु जरुरी रहेको अध्यक्ष ओली बताउँछन् ।

वनक्षेत्रमा फोहोर नफाल्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको भएपनि यसमा कुनै निकायबाट सुनुवाई नभएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् । यता स्थानीय सरकारका प्रतिनिधिसमेत रहेका कनकाईको वडा नं.–२ का वडाध्यक्ष बलराम राईसमेत फोहोर व्यवस्थापनका विषयमा आफू निकै गम्भीर बनेको बताउँछन् ।

फोहोरमैला व्यवस्थापन गर्न बनेको ऊर्जा कम्पनी र कनकाई सामुदायिक वन क्षेत्रको डम्पिङ साइडका कारण विशेष गरी कनकाईको वडा नं.२ प्रत्यक्ष रुपमा प्रभावित बनेको वडाध्यक्ष राईको भनाई छ । कनकाई नगरक्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको भन्दै वडाध्यक्ष राईले यस विषयमा नगरक्षेत्रमा क्रियाशील राजनीतिक दल, सामाजिक संघ संस्थासहित सरोकारवालाबिच संवाद हुनु जरुरी रहेको बताए ।

हरियाली वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिदै आएपनि कनकाई नगरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिचान दिएको सामुदायिक वन भने फोहोर फाल्ने डम्पिङ साइड बन्नु राम्रो कुरा नभएको स्थानीयबासी बताउँछन् । कनकाई नगरपालिकाले नगरक्षेत्रको मुख्य बजार सुरुङ्गाको लागि कनकाई सामुदायिक वनलाई डम्पिङ साइड बनाएको छ भने दुर्गापुर बजारसहित आसपासको ग्रामीण क्षेत्रका लागि कनकाई–७ स्थित निर्माणाधिन श्रमिक स्वावलम्बन उद्योग आसपासको जंगलमा खुल्ला डम्पिङ साइड बनाएको छ । त्यस्तै लक्ष्मीपुर र घैलाडुब्बा बजारका लागि समेत सोही वडामा रहेको बिरिङको धारसँगैको जंगलमा फोहोर फाल्ने गरेको सफाई कर्मचारी बताउँछन् ।

विशेषगरी बजारको फोहोर वनक्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको स्थानीय कनकाई–२ निवासी दिलकुमारी श्रेष्ठ बताउँछिन् । गाउँबाट पवित्र कनकाई नदीमा नुहाउने र पूजापाठ गर्न जाने भक्तजनहरुका लागि समेत वनक्षेत्रमा थुपारेको फोहोरका कारण नाक थुन्दै हिड्नु पर्ने समस्या भएको श्रेष्ठको भनाई छ ।

सामुदायिक वनमा फ्याकिएकोे फोहोरको दुर्गन्धका कारण गाउँ–गाउँबाट धार्मिक तथा पर्यटकीय क्षेत्र कोटीहोम साथै कनकाई नदीमा सहज रुपमा आवतजावत गर्न समस्या भएको स्थानीय जेष्ठ नागरिक हर्कबहादुर श्रेष्ठको भनाई छ । पश्चिमबाट आएको हावाले डम्पिङ साइडको दुर्गन्ध सोझै गाउँघरमा ल्याउने भएकाले यसको समस्या समाधानमा सरोकारवाला निकाय गम्भीर नभएको स्थानीय जेष्ठ नागरिक श्रेष्ठको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्